२०८३ वैशाख ३ , बिहीबार

सुर्खेतमा थुनुवा मृत्यु प्रकरणमा छानबिन समिति गठन

समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, वडा नम्बर ११ का अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जालका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघकी सदस्य तथा कर्णाली प्रदेश सचिव मालती विक र मृतकका परिवारतर्फकी गीता सुनार सदस्य रहेका छन् ।


समाचार सारांश
Generated Using AI
  • सुर्खेतमा थुनुवा मृत्युको घटनामा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
  • समितिको संयोजक जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल रहेका छन् ।
  • प्रहरीद्वारा हिरासतको सीसीटीभी फुटेज हेरेर प्रारम्भिक अनुसन्धान भइरहेकाे छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत। सुर्खेतमा थुनुवा मृत्युको घटनामा छानबिनका लागि समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा वडा नम्बर ११ का अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जालका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघकी सदस्य तथा कर्णाली प्रदेश सचिव मालती विक र मृतकका परिवारतर्फकी गीता सुनार सदस्य रहेका छन् ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा लागुऔषध कारोबार मुद्दाका थुनुवा ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको थियो । उनी वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका बासिन्दा हुन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार सुनार शुक्रबार बिहान करिब ५स्५८ बजे ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए ।

‘उनीसँगै सुतेका साथीहरूले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए,’ डीएसपी बुढथापाले भने, ‘तत्कालै उनलाई प्रदेश अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गर्नुभयो।’ उनका अनुसार सुनार ७८ दिनदेखि हिरासतमा रहेका थिए । चार दिनअघि मुद्दा सरकारी वकिल कार्यालयमा पठाइएको थियो र शुक्रबार नै अदालतमा पेसी तय गरिएको थियो ।

थुनुवाको मृत्युपछि प्रहरी कार्यालयमा जडान गरिएको सीसीटीभी फुटेज हेरेर प्रारम्भिक अनुसन्धान गरिएको पनि प्रहरीले जनाएको छ । सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीका अनुसार मृतकको पोस्टमर्टमका लागि नेपालगन्जबाट शनिबार फरेन्सिक विज्ञ चिकित्सक बोलाइएको छ । कर्णालीमा विशेषज्ञ डाक्टर नहुँदा नेपालगन्जस्थित फरेन्सिक विभागका चिकित्सकमार्फत पोस्टमर्टम गराइने उनले बताए ।

May be an image of ticket stub and text

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार