समाचार सारांश
- कर्णाली सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने भेला आयोजना गर्ने भएको छ।
- भेला कात्तिक २५ र २६ गते प्रदेश राजधानी सुर्खेतमा हुनेछ।
- आयोजनाको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले लिएको छ।
- सहभागीमा प्रदेशका सबै नगरप्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, साथै १० वटै जिल्लाका समन्वय समितिका प्रमुख र उपप्रमुख रहनेछन्।
सुर्खेत । प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने भेला आयोजना गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा कात्तिक २५ र २६ गते सुर्खेतमा आयोजना हुने भेलामा प्रदेशभित्रका सबै स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी हुने छन्।
साथै प्रदेशका १० वटै जिल्लाका समन्वय समितिका प्रमुख र उपप्रमुखहरूलाई पनि सहभागी गराइने भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव लक्ष्मीकुमार विकले भेलामा मुख्यतः प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सेवा प्रवाह, योजना छनोटसम्बन्धी हाल कर्णाली प्रदेशले गरिरहेको अभ्यास र कार्यविधि र स्थानीय तहका कर्मचारी, राजस्व संकलन तथा बाँडफाँडसम्बन्धी विषयमा छलफल हुने बताए ।
सचिव विकका अनुसार संविधानले निर्दिष्ट गरेको सहकार्य, सहअस्तित्व र समन्वयको भावना अनुरूप प्रदेश र स्थानीय तहबीच देखिएका सम्बन्ध र व्यवहारका चुनौती समाधानका उपाय खोज्ने उद्देश्यले यो भेला आयोजना गरिएको हो। कर्णाली प्रदेश सरकारले पहिलो पटक योजना छनोट तथा आयोजना बैंकको अवधारणा ल्याएर चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिरहेको छ। भेलामा उक्त अवधारणालाई थप परिमार्जन र प्रभावकारी बनाउन सम्बन्धित पक्षहरूसँग छलफल हुने जनाइएको छ।