२०८३ वैशाख ३ , बिहीबार

सिम्ता गाउँपालिका–३ मा वडाबाटै भत्ता वितरण

सामाजिक सुरक्षा भत्ता लिने बालबालिका, वृद्धवृद्धा, अपांग तथा एकल महिलालाई बैंकमा गएर लामो लाइन बसेर भत्ता लिन अप्ठेरो र दुःख भएपछि वडाध्यक्ष लोकबहादुर शाहीले वडा कार्यालयबाटै भत्ता दिलाएका हुन् ।


समाचार सारांश
Generated Using AI
  • सिम्ता गाउँपालिका–३ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
  • विगतमा नागरिकले जामुने बजारस्थित लक्ष्मी सनराइज बैंक पुग्नुपर्ने बाध्यता थियो।
  • बैंकका कर्मचारीहरू वडाकै कार्यालयमा पुगेर भत्ता वितरण गरेका हुन् ।
  • वडाबाटै भत्ता पाउँदा स्थानीय वृद्धवृद्धा अत्यन्तै खुशी भएका थिए ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

पुजा रावल, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–३ का वडाध्यक्ष लोकबहादुर शाहीको पहलमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिने बालबालिका, वृद्धवृद्धा, अपांग तथा एकल महिलालाई बैंकमा गएर लामो लाइन बसेर भत्ता लिन अप्ठेरो र दुःख भएपछि वडाध्यक्ष शाहीले वडा कार्यालयबाटै भत्ता दिलाएका हुन् ।

भत्ता वितरणका लागि बैंकका कर्मचारीहरू वडाकै कार्यालयमा पुगेर सेवाग्राहीलाई रकम वितरण गरेको वडाध्यक्ष शाहीले बताए । ‘अघिसम्म नागरिकहरूले घण्टौँ हिँडेर जामुने बजारस्थित लक्ष्मी सनराइज बैंक पुग्नु पर्ने बाध्यता थियो,वडाध्यक्ष शाहीले भने, ‘तर अहिले वडामै सेवा उपलब्ध भएपछि सबैलाई सहज भएको छ।,’ उनका अनुसार सोमवार मात्रै २ सय २ जनाले वडाबाटै भत्ता पाएका छन् ।

तीमध्ये १४४ जना ज्येष्ठ नागरिक, १६ जना बालबालिका, २२ जना एकल महिला र २० जना अपांगता भएका व्यक्तिहरू रहेका छन् । वडाभित्र बैंकको शाखा नहुँदा विगतमा भत्ता बुझ्नका लागि वृद्धवृद्धा र अशक्त नागरिकहरूलाई गाडी भाडा तिर्नुका साथै लामो लाइनमा बस्नुपर्ने अवस्था थियो । अब भने वडाबाटै वितरण सुरु भएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २५ गते मंगलबार