समाचार सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे।
- उनले चुनावका नाममा देशमा षड्यन्त्र भइरहेको आरोप लगाउँदै यस्तो अवस्थामा निर्वाचनको औचित्य नभएको बताए।
- २३–२४ भदौपछि बनेको सरकारले लोकतन्त्र कमजोर बनाउने काम गरेको आराेप लगाए ।
- देशलाई राजनीतिक संकटबाट निकाल्न विघटित प्रतिनिधिसभा पुनर्स्थापना तथा संविधान संशोधन आवश्यक रहेको दाबी गरे ।
- प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा सबै राजनीतिक दल एकजुट हुन उनले आग्रह गरे ।
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुन नसक्ने स्पष्ट दाबी गरेका छन्। शनिबार साँझ सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावका नाममा देशमा थप षड्यन्त्र भइरहेको आरोप लगाउँदै यस्तो अवस्थामा निर्वाचनको औचित्य नै नदेखिने बताएका हुन् ।
महासचिव पोखरेलले जेन–जी आन्दोलनपछि बनेको सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको र २३–२४ भदौपछि गठित सरकारले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । ‘प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा संविधानसम्मत रूपमा यही संसद्बाट निकास खोज्न आग्रह गरिए पनि संविधानले नचिन्ने सरकार निर्माण भयो,’ पोखरेलले भने, ‘सरकार गठनदेखि प्रतिनिधिसभा विघटनसम्मका सबै प्रक्रिया संविधानविपरीत छन्।,’
उनले एमाले हुनै नहुने निर्वाचनको प्रक्रियामा सामेल नहुने स्पष्ट गर्दै संसद् विघटन गलत भएकाले विघटित प्रतिनिधिसभालाई पुनः ब्युँताएर संविधान संशोधनमार्फत राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिए। उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना मुद्दामा सबै राजनीतिक दललाई एक ठाउँमा उभिन आग्रह गरे।
एमालेका पछिल्ला गतिविधि जनताको मनोबल उठाउन केन्द्रित रहेको बताउँदै पोखरेलले आन्दोलन र हिंसा अलग–अलग विषय भएको उल्लेख गरे। जेन–जी आन्दोलनबारे बोल्दै उनले ३३ प्रतिशत फेक एकाउन्ट बनाई युवालाई भड्काइयो भन्ने दाबी गरे। ‘सामाजिक सञ्जालमा एक तिहाइ प्रायोजित गतिविधिबाट सिङ्गो राष्ट्र जलाउने प्रयास हुनु दुःखद भयो,’ उनले भने।