२०८३ वैशाख २२ , मंगलबार

भैरवी गाउँपालिकाले हटायो ६१ जना अनुदान शिक्षक



दैलेख । भैरवी गाउँपालिकाले करार अवधि नवीकरण नभएका तथा पालिकाको अनुदानबाट पारिश्रमिक पाउँदै आएका शिक्षकलाई हाजिर नगर्न आग्रह गरेको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेट अपुग भएपछि यस्तो निर्णय गर्नुपरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन प्रसाद शर्माका अनुसार करार अवधि समाप्त भएर म्याद नवीकरण नभएका सामुदायिक विद्यालयका अनुदानका शिक्षकलाई तत्काल प्रभावका साथ हाजिर रोक्न निर्देशन दिइएको हो।

भैरवी गाउँपालिकामा हाल ६१ भन्दा बढी करार अनुदान शिक्षक कार्यरत रहेका छन्। शर्माका अनुसार पालिकाको अनुदानबाट तलब–भत्ता पाउँदै आएका करार शिक्षक, विद्यालय कर्मचारी, लेखा सहायक र बाल विकास सहयोगीका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा श्रावणदेखि कार्तिक मसान्तसम्मका लागि मात्र बजेट पुगेको थियो।

चाडपर्व खर्चसहित उपलब्ध रकम सकिएकाले कार्तिकपछि तलब–भत्ता वितरण गर्न नसकिने अवस्था आएको उनले बताए। यस परिस्थितिले अनुदान प्राप्त शिक्षक तथा कर्मचारीलाई हाजिर नगर्न अनुरोध गरिएको र सो निर्देशन उल्लङ्घन भएमा त्यसबाट उत्पन्न आर्थिक दायित्व गाउँपालिकाले नबेहोर्ने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार