सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सदस्य दीपक उपाध्यायले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार स्ववियु अध्यक्ष विवेक खड्कालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। उपाध्याय १८ चैत २०८१ मा सम्पन्न स्ववियु निर्वाचनबाट समानुपातिकतर्फ सदस्यमा निर्वाचित भएका थिए।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका विद्यार्थी नेता रहेका उनले व्यक्तिगत कारणले पद त्याग गरेको जानकारी दिएका छन्। राजीनामा पत्रमा उनले विद्यार्थीको आवाज बुलन्द गर्ने, शिक्षामा सुधार ल्याउने र संस्थाको मर्यादा उकास्ने उद्देश्यका साथ जिम्मेवारी वहन गरेको उल्लेख छ।
‘यस अवधिमा मैले सिकेको, देखेको र भोगेको अनुभव मेरो जीवनका लागि मूल्यवान् सम्पत्ति बनेको छ,’ उपाध्यायले भने, ‘तर पछिल्लो समय व्यक्तिगत कारणले आवश्यक समय, ऊर्जा र समर्पण दिन नसक्ने अवस्था सिर्जना भएकाले पदबाट राजीनामा दिएको हुँ।’ स्ववियु सदस्यबाट अलग भए पनि नेपाल विद्यार्थी संघका तर्फबाट विद्यार्थीका हकअधिकारका विषयमा निरन्तर वकालत गर्ने उनको भनाइ छ।
