२०८३ वैशाख ३ , बिहीबार

साढे तीन वर्षको अवधिमा सिंजामा १ हजार ६ सय घरधुरीमा खानेपानी



सुर्खेत । जुम्लाको सिंजा गाउँपालिकाले साढे तीन वर्षको अवधिमा करिब १ हजार ६ सय घरधुरीमा खानेपानी पु¥याएको छ। गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालका अनुसार धारा अभावका कारण सास्ती भोगिरहेका स्थानीयको घरघरमा खानेपानी जडान गरिएकाले अब सहज भएको छ। अध्यक्ष धितालले आफ्नो कार्यकालमा १७ किलोमिटर नयाँ सडक निर्माण गरेको बताए।

यस्तै अशक्त, अपाङ्गता, असहाय तथा टुहुरा बालबालिकालाई लक्षित गरी वडा नम्बर ३ मा निःशुल्क होष्टेल निर्माण गरी खान, बस्न तथा पढ्न–पढाउनको व्यवस्था गरिएको छ। उनका अनुसार पाँच वडामा रहेका विद्यालयका पक्की भवन निर्माण सम्पन्न गरिएको छ भने २ वटा वडा कार्यालय निर्माण भई सञ्चालनमा आइसकेका छन्। अन्य २ वडा कार्यालय निर्माणाधीन छन्।

गाउँपालिकाको कार्यालय भवनमा पनि ३ तला थपिएको छ। गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। यससँगै गाउँ–गाउँमा पुगेर ९ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। स्थानीय पाठ्यक्रम निर्माण गरी विभिन्न विद्यालयमा वितरण गरिसकिएको र त्यसअनुसार पढाइ भइरहेको अध्यक्ष धितालले जानकारी दिए। साथै उनले किशोरी लक्षित कुरुतीविरुद्धका कार्यक्रम पनि सञ्चालनमा ल्याइएको बताए।

प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार