सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–८ मा सहभागितामूलक योजना तर्जुमा तथा लैङ्गिकमैत्री बजेट निर्माणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएन वुमेनको प्राविधिक सहयोग तथा नेपाल सरकारको समन्वयमा सञ्चालित ‘सशक्त महिला समृद्ध नेपाल’ अभियानअन्तर्गत लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजनाको सन्दर्भमा सो कार्यक्रम सम्पन्न भएको हो ।
वडाध्यक्ष कमल जिसीको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण प्रो–पब्लिकको नेतृत्वमा, सुशासन प्रवद्र्धनका लागि युवा सुर्खेत र निडस नेपालको साझेदारीमा संचालन गरिएको थियो । परियोजना कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका १० स्थानीय तहका २० वडामा कार्यान्वयनमा छ । परियोजनाले महिलाहरू, दलित, जनजाति, सिमान्तकृत समूह तथा अपांगता भएका व्यक्तिहरूको निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्ने, सामाजिक न्याय तथा लैङ्गिक समानता प्रवद्र्धन गर्ने तथा स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा सहभागीहरूलाई स्थानीय तहमा योजना तर्जुमा प्रक्रिया, नागरिक सहभागिता, लैङ्गिकउत्तरदायी बजेटका सिद्धान्त, समावेशी विकास अभ्यास, समुदायको आवश्यकता पहिचान, प्राथमिकता निर्धारण, स्रोत व्यवस्थापन तथा प्रभावकारी योजना चक्रबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । सहजिकरणहरूले योजना प्रक्रियालाई पारदर्शी, उत्तरदायी र समावेशी बनाउन वडा तहमै क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गरे ।
सहभागीहरूले अभिमुखिकरणले समावेशी, पारदर्शी तथा लैङ्गिकमैत्री योजना निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूको भनाइमा विशेषगरी महिलाहरू, दलित तथा अन्य सिमान्तकृत समुदायका आवाज स्थानीय योजना प्रक्रियामा अझ प्रभावकारी रूपमा समावेश गर्न यस प्रकारका अभिमुखिकरण उपयोगी हुने बताइएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूह, नागरिक समाज, युवा तथा सरोकारवालासहित १०५ जनाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
