सुर्खेत । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशभर मंगलबारदेखि सुरु भएको छ। सोही श्रृंखलामा सल्यानको कालिमाटी गाउँपालिकामा पनि विशेष कार्यक्रमसहित अभियानको शुभारम्भ गरिएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर केसीले अभियानको उद्घाटन गर्दै महिलामाथि हुने हिंसा पूर्णरूपमा रोक्न सबै तहबाट सक्रिय भूमिका आवश्यक रहेको बताए ।
उनले हिंसा नघट्ने वातावरण बनाउन महिला सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गरे । अध्यक्ष केसीले महिला हिंसाका घटनामा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने चेतावनी दिँदै अपराधीविरुद्ध कडा कारबाहीमा गाउँपालिका कडाभन्दा कडा हुने बताए । गाउँपालिकाले अभियानका लागि करिब १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
सो बजेटबाट प्रत्येक वडाका विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ । अभियानमा विभिन्न विद्यालयका विद्यार्थी, संस्था, महिला स्वास्थ्यकर्मी, नेपाल प्रहरी तथा स्थानीयस्तरका सामाजिक अभियन्ताहरुले सहजीकरण गर्ने तयारी गरेको छ । साथै बालविवाह रोकथाम लगायतका जनचेतनामूलक सामग्री तथा कार्यक्रमकाे आयाेजनामार्फत समुदायमा सन्देश फैलाउने याेजना रहेको उनको भनाइ छ ।