
सत्ता साँझेदार दलहरुले प्रदेश सरकारहरुकाे भागबन्डा टुंगो लगाएका छन्। भागबन्डामा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ।
यसपटक पनि कँडेल अभागी सावित भएका छन्। केपी ओलिकाे बक्रदृष्टिले याे कार्यकालपनि उनी मुख्यमन्त्री बन्ने सम्भावना लगभग समाप्त भएको छ। विधि र पद्धतिमा रमाउने कँडेललाई ओलिकाे एकतर्फी निर्णयले राजनीतिकाे एउटा किनारामा ल्याईदिएकाे छ।
काे हुन कँडेल ?
नेकपा एमालेकाे नवाैं महाधिवेशन पछि पहिलो केन्द्रीय कमिटीकाे बैठक सुरु भयाे। सबै केन्द्रीय सदस्यहरु आ- आफ्नै स्थानमा बसे। बैंठककाे अघिल्लो आसनमा निर्वाचित अध्यक्ष केपी ओलिसहित पदाधिकारीहरु र अध्यक्षमा पराजित माधवकुमार नेपाल पनि बसेका थिए।
अध्यक्ष केपी शर्मा ओलिले बैठक सुरु भएको जनाउ दिए लगत्तै केन्द्रीय सदस्यमा निर्वाचित यमलाल कँडेलले आसन ग्रहणका बारेमा नियमापत्ती गरे। सबैकाे जान-पहिचानवाला व्यक्ति भएपनि पहिलोपटक एमालेकाे केन्द्रीय सदस्य बनेका कँडेल उठेपछि सभाहल सुनसान बन्याे।
अध्यक्ष ओलिले के भयाे भनी प्रश्न गरे। कँडेलले माधवकुमार नेपाललाई कुन नीति र विधिले अध्यक्ष र पदाधिकारी बस्ने अघिल्लो लाईनमा बसाईएकाे हाे भन्दै प्रश्न गरे । उनलेे भनेका थिए,”उहाँ भरखरै भएको महाधिवेशनमा पराजित भएको व्यक्ति हाे।उहाँको आसन माथिल्लो “राे” मा हैन।”
१५ बर्ष महासचिव भएको ब्यक्तिलाई सिधा ताकेर प्रश्न गर्ने हिम्मत हलमा भएका धेरैको थिएन। ५५/५६ मै मालेकाे केन्द्रीय सदस्य र सचिवालय हेर्ने जिम्मेवारी पाईसकेका भएपनि मालेमा लागेका कारण पटकपटक डामिएका र पहिलोपटक एमालेकाे केन्द्रीय सदस्य बनेका कँडेलकाे संगिन प्रश्नले पार्टी भित्र सधै विधि र विधानका कुरा गर्ने माधव नेपाललाई वेस्सरी घाेच्याे। उनी पदाधिकारी बस्ने आसन छाेडेर केन्द्रीय सदस्यहरु बस्ने लाईनमा आएर बसे।
माधवकुमार नेपालल केन्द्रीय सदस्य वस्ने फ्लाेरमा आएर बसेपछि अध्यक्ष ओलिले नेपाललाई आफुसंगै बस्न अनुरोध गरे। ओलिकाे आग्रहलाई नेपालले नसुनेझै गरेपछि उनी आफै फ्लाेरमा झरेर नेपालकाे हात समाएर माथि आफुसंगै राखे। त्यहीवाट ओलिले तत्काल माधवकुमार नेपाललाई वरिष्ठ नेताकाे प्रस्ताव गरेपछि बैठकले सर्वसम्मतरुपमा पास गरेको थियाे।
यी सबै दृश्य “लाईभ” देखेका एमाले केन्द्रीय सदस्य गुलाबजंग शाहले सिद्धदर्शन दैनिकसंगकाे कुराकानीमा भने, “माधवकुमार नेपाललाई पनि विधि र पद्धतिकाे कुरा सम्झाउने नेता हुन,कँडेल।”
एमाले पार्टीभित्र विद्यार्थी राजनीतिबाट उदाएका कँडेल सुर्खेतमा पार्टी राजनीति सुरु गर्दा नेपाली कांग्रेसकाे दवदवा थियाे। २०४८ सालमा दुबै प्रतिनिधि सभा जितेकाे र २०४९ सालको स्थानीय निकायकाे निर्वाचनमासमेत धेरै स्थानमा बिजय हासिल गरेकाे नेपाली कांग्रेसकाे विजयरथ कँडेलले नै राेकेका थिए। स्थानीय निकायकाे निर्वाचनमा कँडेलले वीरेन्द्रनगरकाे मेयर पदमा विजयी हुँदै नेपाली कांग्रेसको दम्भ ताेडेका थिए।
त्यसपछि मात्रै एमालेले कांग्रेसलाई निर्वाचनमा पराजित गर्नसक्छ भन्ने शाहस पलाएकाे एमालेका पुराना नेताहरु वताउँछन। कँडेल सुर्खेतमा आएर पार्टी राजनीति सुरु गरेपछि नै एमाले पार्टीमा नयाँ उर्जा आएकाे एमाले सुर्खेतका सचिव कविन्द्रकुमार केसी वताउछन्।
२०५१ सालकाे मध्यावधि निर्वाचनमा सुर्खेत २ बाट प्रतिनिधि सभामा विजयी भएका कँडेल २०५५ मा नेपालकाे पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए। २०५६ मा पार्टी विभाजनका कारण निर्वाचनमा पराजित बनेका कँडेल २०६४ काे संविधानसभा सदस्यमा निर्वाचित भए।
२०७० मा तत्कालीन एमाले जिल्ला उपाध्यक्ष शिवप्रसाद उपाध्यायकाे बागी उम्मेदवारीका कारण उनी पराजित भएका थिए। २०७४ र २०७९ मा दुबैपटक कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित कँडेल दुबैपटक एमाले संसदीय दलकाे नेतामा निर्वाचित भएका छन।
एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश ईन्चार्ज कँडेलका नाममा विजयका धेरै रेकर्ड भएपनि एमाले पार्टी नेतृत्वकाे काेपभाजनमा परिरहे। उनी जस्तै हैसियत भएकाहरु केन्द्रीय सदस्य बनिसक्दा पनि उनले केन्द्रीय कमिटीमा आउन धेरै समय कुर्नु पर्याे।
आठाैं महाधिवेशनमा झलनाथ खनालकाे समूहमा रहेका उनलाई केपी ओलि समूहबाट प्रतिस्पर्धा गर्न अनुरोध गरिएको थियाे। टिम नछाड्ने अडानका कारण निश्चित बिजय हुने अवस्था भएपनि उनलेे केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेनन्।
माधवकुमार नेपालसंग उनको कहिल्यै राम्रो सम्बन्ध भएन। झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन हस्ताक्षर अभियानकाे नेतृत्व गरेका कँडेलले झलनाथ खनाललाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउँदापनि कुनै जिम्मेवारी लिएनन् । मन्त्री अनि केन्द्रीय सदस्य बन्ने सम्भावनाकाे नजिक पुगेर पनि उनले जिम्मेवारी पाएनन्। एमाले भित्रकाे चर्काे गुटबन्दीका कारण उनी सधैं “कर्नर”मा परिरहे।
२०७४ सालमा कर्णाली प्रदेशसभामा एमालेले ४० मध्ये २० सिटमा विजय हुँदापनि उनी मुख्यमन्त्री बन्न सकेनन्। नेकपा माओवादीबाट निर्वाचित धर्मराज रेग्मी र ठम्मर विष्टकाे सांसद पद गुमेर एमाले प्रष्ट बहुमतमा पुग्दापनि माधवकुमार नेपाल निकट ४ सांसदहरूले “फ्लाेरक्रस” गरेर उनलाई मुख्यमन्त्री बन्न दिएनन्। एमाले र माओवादी मिलेर बनेकाे नेकपा कालका चर्चित पात्र यसपटक पनि मुख्यमन्त्रीकाे “रेश” मा अघि देखिएपनि अध्यक्ष केपी ओलिकाे काेपभाजनमा परिछाडेका छन्। एमाले स्थायी कमिटी सदस्य अनि नेकपा माओवादी केन्द्रका “सिनियर” नेताहरु प्रदेश सभामा नहुँदापनि कँडेललाई मुख्यमन्त्री बन्नबाट राेकिएकाे छ।
नेकपा माओवादीभित्र मुख्यमन्त्रीका दाबेदार राजकुमार शर्मा जनार्दन शर्माका नातापर्ने भएकोले अहिलेकाे सत्ता गठबन्धन बनाउन निर्णायक भूमिका खेलेका बर्षमान पुन र अर्का नेता शक्तिबहादुर वस्नेतले असहयोग गरेपनि अन्तत: शर्मा मुख्यमन्त्री बन्नेगरी भागबन्डा टुंगो लगाईएकाे छ।
सधैंभरी विधि पद्धति र कमिटी प्रणालीमा चल्न जाेड दिने कँडेललाई आफ्नाहरुलाई सेप्ने आराेप एउटा काेणबाट जबर्जस्त उठाउने गरिन्छ। उनीसँग बिगतदेखि नै नजिक भएकाहरुले भने कुनैपनि पद र प्रतिष्ठा प्राप्त गर्न सकेको देखिदैन। उनी निकट पुराना नेताहरु बालाराम शर्मा, हस्त पुन, खगेन्द्र घर्ती, महेन्द्रप्रसाद शर्मा, डिलाराम गिरी, कृष्णबहादुर हमाल लगायतका नेताहरूकाे गाैरबपूर्ण ईतिहास हुँदाहुँदै पनि कुनैपनि राजकीय र पार्टीगत जिम्मेवारी प्राप्त गर्न सकेनन्।
नयाँ पिढीका कुलमणि देवकोटा,हरिहरनाथ याेगीलगायतले कुनै ठूलो जिम्मेवारी पाएका छैनन् भने उनीसंग फरकमत राख्नेहरु अमृतकुमार बिसी, हरिप्रसाद अधिकारी, पद्मा खड्का लगायतले पार्टी र राजकीय पद प्राप्ति र प्रतिस्पर्धा गरिसकेका छन।