२०८३ वैशाख ३ , बिहीबार

खत्याड गाउँपालिकाले टिमुर खेतीलाई विस्तार गर्दै

१ करोड ७५ लाख रुपैयाँ विनियोजन


सुर्खेत । मुगुको खत्याड गाउँपालिकाले आर्थिक समृद्धि र स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले टिमुर खेतिको उत्पादन विस्तारमा जोड दिएको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले प्रत्येक वडामा कृषिको आधुनिकीकरण तथा व्यावसायिकरणलाई प्राथमिकता दिँदै १ करोडभन्दा बढी बजेट विनियोजन गरेको हो ।

गाउँपालिकाले ११ वटै वडामा टिमुर उत्पादन तथा प्रबद्र्धनका लागि कुल १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटमार्फत टिमुरका नर्सरी स्थापना, उत्पादन क्षेत्र विस्तार, प्राविधिक सहयोग, वितरण प्रणाली र बजार पहुँच विकासका कार्यक्रम अघि बढाइने गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए । उनका अनुसार, स्थानीय स्तरमा उत्पादन वृद्धि र आत्मनिर्भरता कायम गर्न गाउँपालिकाले टिमुरसँगै अन्य बहुउपयोगी बालीको पनि विस्तारलाई प्राथमिकता दिएको छ ।

‘‘हाम्रो लक्ष्य कृषिमा आत्मनिर्भर बनाउनु हो,’’ अध्यक्ष शाहीले भने, ‘‘त्यसका लागि स्याउ, ओखर, सुन्तला लगायतका उच्च मूल्यका बालीलाई पनि सबै वडामा विस्तार गर्दैछौँ ।’’ उच्च भौगोलिक सम्भावना र बजार मागलाई मध्यनजर गर्दै टिमुर खेती विस्तारले स्थानीय बासिन्दालाई दीर्घकालीन आम्दानीको आधार निर्माण गर्ने उनको भनाइ छ । गाउँपालिकाले कृषकहरूलाई आवश्यक प्राविधिक तालिम, बीउबिजन तथा टेक्नोलोजी उपलब्ध गराउने तयारी गरेको छ ।

यस्तै, गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको छ । सोमवारदेखि सुरु गरिएको अभियानअन्तर्गत विद्यालय, महिलासमूह, सामाजिक संस्था तथा समुदायलाई समेट्दै घरेलु हिंसा रोकथाम, लैङ्गिक समानता र सुरक्षाबारे जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

अध्यक्ष शाहीले समाजमा लैङ्गिक हिंसा रोकथामका लागि सबै तहबाट सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अभियानलाई प्रभावकारी बनाइने बताए । ‘‘सचेतना र सहभागिताको विस्तार बिना हिंसा नियन्त्रण सम्भव हुँदैन,’’ उनले भने, ‘‘त्यसैले हामी गाउँगाउँमा पुगेर कार्यक्रम सञ्चालन गर्दैछौँ ।’’

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार