
सुर्खेत । गएराति सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि उनका आफन्त तथा कालीकोटका स्थानीयवासीले वीरेन्द्रनगरमा आन्दोलन चर्काएका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै उनीहरूले मुलपानी चोक, एरिचोक लगायतका क्षेत्रलाई अवरुद्ध गर्दै टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण सवारी आवागमनमा समेत अवरोध भएको छ।
गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र पत्रकार आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए । दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए ।
प्रहरीले उनलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मृतक पत्रकार आचार्यका आफन्तहरूले भने प्रहरीले प्रमाण मेटाउने काम गरेको र मुचुल्का नउठाई घटनास्थलमा पानी हालेको आरोप लगाएका छन् ।
उनीहरूले आवश्यक अनुसन्धानको माग गर्दै शनिबार बिहानैदेखि आन्दोलन चर्काएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले दुर्घटनास्थलबाट घाइते आचार्यलाई तत्काल अस्पताल पुर्याएर मानवीय धर्म निभाउँदा उल्टै प्रहरीमाथि आरोप लगाइएको बताए । मृतक आचार्य कालिकोटको रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष समेत थिए ।