
असोज २१, सुर्खेत
कोरोना संक्रमित भई सुर्खेतको अशोका होटलको आईशोलेसनमा रहेकाहरुका लागि आत्मवल वढाउने र शारीरिकरुपमा तन्दुरुस्त रहन अपनाउनु पर्ने उपायहरु वारे एक कार्यक्रमको आयोजना गरिएको छ ।
आफ्नो पुरै टिम सहित औषधालयका अध्यक्ष विनोद ढकाललाई समेत उपस्थित गराएका कर्णाली प्रदेश आयूर्वेद औषधालयका प्रमुख डा. शंकर रिजालले आईशोलेसनमा रहेका व्यक्तिहरुलाई सूर्याेदय अगावै उठिसक्न र उठ्ने बित्तिकै मनतातो पानी पिउने वानी वनाउन आग्रह गरे ।
मानिस उचित आहार–विहारवाट नै स्वस्थ हुने भन्दै स्वस्थ जीवनशैलीवाट रोगसंग लड्ने शक्ति आर्जन हुने डाक्टर रिजालले दावी गरे । ‘योगाभ्यास, स्वस्थ र सात्विक आहार नै दीर्घ जीवनका आधार हुन,’ आईशोलेसनमा रहेका २५ जनालाई उत्साहित वनाउदै डाक्टर रिजालले भने । कोरोनासंग सावधान रहनुपर्ने भन्दै डव्लुएचओ र नेपाल सरकारले तोकेका स्वास्थ सम्वन्धी मापदण्डहरुको पालना गर्नुपर्नेमा उनले जोड दिए ।
वेसारका गुणहरु धेरै भएको डाक्टर रिजालले जानकारी दिए । उनले ज्वरो आएमा तुल्सी, श्वास प्रश्वास सम्वन्धी समस्या भएमा असुरोको पातलाई पानीमा पकाएर त्यसको वाफ लिने गर्दा समस्या कम हुने वताए ।
‘कोरोना संक्रमितहरुले मनोवल गिराएर वस्ने होईन, उच्च मनोवल वनाएर अघि वढ्नु होस, दैनिक योग र व्यायाम गर्नुहोस,’ लगभग १ घण्टा ३० मिनेटसम्म स्वास्थ्य सम्वन्धी जानकारी र योग सिकाएका डाक्टर रिजालले भने ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंच कर्णाली प्रदेश संयोजक आकाशतारा वयकले आधुनिक समाज र पत्रकारिता क्षेत्रका सीमाहरु वारे व्याख्या गरेका थिए । उनले कोरोना संक्रमितहरु कत्तिपनि नआत्तिएर यो रोग विरुद्ध निर्णायक लडाइँमा होमिनुपर्नेमा जोड दिए ।
प्रदेश औषधालय व्यवस्थापन समितिका अध्यक्ष एवम् उक्त कार्यक्रमका प्रमुख अतिथि विनोद ढकालले कोरोनावाट भयवित वन्ने नभई रोगसंग लड्ने क्षमता वढाउन अनुरोध गरे । उनले आयूर्वेद औषधी सेवन गर्न सहभागीहरुलाई आग्रह गरे । ढकालले औषधालयले प्रदेशभर निशुल्क रुपमा आयूर्वेद औषधीहरु वितरण गरिएको दावी गरे। उनले आयूर्वेदको औषधी सेवन गरि ईम्युनिटी पावर वढाउन र कोरोनालाई परास्त गर्न सवैलाई आग्रह गरे ।
कार्यक्रममा सहभागीका तर्फवाट शंकरप्रसाद भट्टराई, धिरेन्द्र शाही, दुर्गा न्यौपाने, चुडामणि वस्नेत लगायतले आ–आफ्ना स्वास्थ्य सम्वन्धी समस्या र गुनासाहरु राखेका थिए । होटलले प्रदेश आयूर्वेद औषधालयवाट चिया लगायत अन्य औषधीहरु ल्याई संक्रमितहरुलाई वितरण गरिरहेको छ । उक्त होटलको आईशोलेसनमा हाल २३ पुरुष र २ जना महिला रहेको होटल व्यवस्थापनले जानकारी दिएको छ ।
