
सुर्खेत । कर्णालीमा नेकपा एमालेका तीनै जना मन्त्रीहरूले राजिनामा दिएका छन् । आईतवार आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।
गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।
गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । तर मुख्यमन्त्री शर्माले एमालेका ३ मन्त्रीलाई चाहेर पनि बर्खास्त गर्न सकिरहेका थिएनन् । एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ ।
अब भने एमालेले राजीनामा बुझाएपछि कांग्रेस सरकारमा जाने भएको छ । गत फागुन १८ गते राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि चैत १७ गते दोस्रो पटक मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए । उनलाई दोस्रो पटकमा राप्रपा बाहेक अन्य सबै दलले विश्वासको मत दिएका थिए ।