२०८३ वैशाख ७ , सोमबार

छोराको आस गर्दै महिलाको जीवन माथि खेलबाड 



कुलेन्द्र शाही सुर्खेत । छोरा जस्तै छोरीलाई पनि समान व्यवहार गर्नुपर्छ भन्ने सोचको विकास बिस्तारै हुँदै आए पनि व्यवहारमा भने त्यो लागु भएको पाइँदैन । छोरीलाई छोरा जस्तै ठानेर उनीहरूले पनि धेरै काम गर्न सक्छन् भन्ने सोचमा भने व्यापक परिवर्तन आएको छ। सहर बजारमा त्यो चेतको विकास अलि माथिल्लो स्तरको भएको र ग्रामीण समाजमा भने चेतनाको स्तर तल्लो स्तरको हुने भएकोले छोरी भन्दा छोरालाई महत्त्व दिने गरेको पाइन्छ ।

 

यस्तै एक कथा छ, सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिकामास जहाँ एक जना महिलाले छोरा जन्माउने आसमा ७ छोरीको जन्म दिएकी छन् । जाजरकोटको शिवालय गाउँपालिकाबाट १९ वर्षमा विवाह गरेकी धनसरा चन्दले १२ वर्षमा सात छोरी र एक छोराको जन्म दिएकी हुन्। उनले विवाह गरेको एक वर्षमा छोरी जन्मियो । उनी अहिले ३० वर्षको भएकी छन् । उनले अहिले ८ सन्तानलाई जन्म दिई सकेकी छन्।

 

उनले यति सानै उमेरमा ज्यान जोखिममा राखेर यति धेरै सन्तान जन्माउनु रहर नभई छोरा पाउनुपर्छ भन्ने समाजको दबाब भएको स्वीकारिन। उनले यसमा श्रीमान् र परिवारको ठुलो दबाब भएको बताइन् । सन्तानमा छोरा जन्मिन्छ कि भनेर घर परिवार तथा माइतीहरूले आशा गरेका थिए । तर, पहिलो सन्तान नै छोरी जन्मिए पछि उनीहरूले फेरि सन्तान जन्माउने निधो गरे ।

 

छोरी करिब ४५ दिनको भएको बेलामा एक्कासी मृत्यु भयो । उनको पहिलो सन्तानको मृत्युभएपछि फेरि एक वर्षपछि पनि छोरी जन्मियो । ३० वर्ष पुगेकी उनले छोराको आसै आसमा छ आठ सन्तानलाई जन्म दिएकी हुन् । आफूले छोरी मात्रै लगातार जन्माउँदा सामाजिक अपहेलनामा परेको उनले खबरदृष्टि बताइन् ।

 

मेरो स्वास्थ्य अवस्था पनि निकै कमजोर भइसकेको थियो उनले भनिन्, ‘तीन वटा छोरी जन्मिसकेपछि स्थानीय स्वास्थ्यकर्मीहरूले अब तपाईँ स्थायी बन्ध्याकरण गर्नुहोस् भनेका थिए तर श्रीमानले मान्नुभएन ।’ ‘पछि मलाई पनि सबैले अपहेलना गर्न थालेपछि जे पो होस् भनेर बच्चा जन्माउँदा सात छोरी भए, उनले भनिन्, ु यो मेरो बाध्यता जस्तै बन्यो उनले भनिन्, ुपहिला छोरा जन्मेको भए यति धेरै सन्तान जन्माउन मलाई पनि रहर हुन्थेन ।’

 

‘चार छोरी जन्मिदा आफूलाई परिवार र छरछिमेकमा विभिन्न आलोचना गर्ने गरिएको थियो । जब छोरा जन्मियो त्यसपछि सबैको बोल्ने मुख बन्द भयो,ु उनले भनिन् । उनले आठमध्ये अन्तिम छोरालाई मात्रै स्वास्थ्य केन्द्रमा जन्माएको बताइन् । अरू सबै घरमै जन्मिए भने कोहीको गर्भमै मृत्यु भने अन्यमा पनि शारीरिक समस्या देखियो।

 

छोराको चाहानामा आठ सन्तान जन्माएकी उनलाई आर्थिक अभावका बिच पनि एक छोरा जन्मिएपछि सन्तुष्टिको अनुभूति भएको बताइन् । छोरा नजन्माउँदा समाजले नकारात्मक कुरा मात्रै गर्न थालेपछि उनले सात छोरी र एक छोराको जन्म दिएको बताइन। आठौँ सन्तानका रूपमा छोरा जन्मिएपछि उनको परिवारमा भने अहिले खुसी छाएको छ । दोस्रो सन्तान भएपछि एक दुई महिना नहुँदै उनका छोराछोरीहरू गर्भमै मृत्युदेखि विभिन्न समस्या देखियो । त्यस्तै गर्दा उनका आठ सन्तान पुगे ।

 

अहिले उनीसँग एक छोरा र तीन छोरी रहेका छन् । अन्तिममा छोराको यही चैत्र ७ गते जन्म भएको छ । उनले जुन काममा पनि छोराको मात्रै मान्यता दिने समाजमा महिलाले धेरै ठाउँमा मर्नुपरेको गुनासो पोखिन । जब छोरीलाई पनि छोराले जस्तै हलो जोत्ने, आमाबुवाको मृत्युमा दागबत्ती दिनेदेखि घरबाहिरको कामको सबै जिम्मा दिइँदैन, तबसम्म छोराप्रतिको माया कम नहुने उनको भनाई छ ।

 

पछिल्लो समय शिक्षित पुस्ता छोरा र छोरी बिचमा भेदभावमा नभए पनि दुर्गम क्षेत्रमा अझै उस्तै समस्या रहेको छ । छोराको आसले महिलामाथि बर्षौटे बच्चा पाउने समस्या र अन्य घरेलु हिंसा र यौनजन्य हिंसाका विभिन्न घटनाहरू हुने गरेका छन् । दुर्गम ठाउँका महिलाहरूको स्वास्थ्य अवस्था जटिल हुनुमा छोरा जन्माउनकै लागि बर्सेनि गर्भवती हुनुपर्ने अवस्था पनि प्रमुख कारण भएको जानकारहरू बताउँछन्।

 

प्रकाशित मिति : २०८० वैशाख ५ गते मंगलबार