२०८३ वैशाख ७ , सोमबार

राखेको २४ घण्टा नबित्दै किन हटाईयो मरिचमानको बोर्ड ?



सल्यान । सल्यानमा पूर्वप्रधानमन्त्री स्व.मरिचमान सिंह श्रेष्ठको नामबाट चोकको नामाकरण गरेर राखेको बोर्ड २४ घण्टा नबित्दै हटाइएको छ । सल्यानी युवाहरुको नेतृत्वमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र शारदा नगरपालिका १ स्थित श्रीनगर शितलपाटीमा राप्ती राजमार्ग अन्र्तगत सल्यान खलंगा र रुकुम जाने सडकको चौकमा सल्यानमै जन्मिएका पुर्वप्रधानमन्त्री स्व.मरिचमानको बोर्ड राखेर मरिचमान चौक नामाकरण गरिएको थियो ।

 

पुर्खाको सम्मान, वर्तमानको सुधार भन्ने नारासहित देशमा सल्यानबाट पहिलोपटक प्रधानमन्त्री बनेका मरिचमानको सम्मान स्वरुप चौक नामाकरण गरिएको समृद्ध सल्यान निर्माण अभियानका संयोजक धुर्वराज वलीले जानकारी दिए । तर, मरिचमान चौक नामाकरण गरेर राखेको बोर्ड २४ घण्टा नबित्दै प्रहरीले हटाएको छ ।

 

आइतवार बेलुका ८ वजे दिप प्रज्ज्वलन सहित राखिएको बोर्ड सोमबार बिहान प्रहरीले हटाएको हो । सल्यान खलंगा र रुकुम जाने सडकको चोकमा पूर्वप्रधानमन्त्री स्व. मरिचमान बोर्ड राखेर मरिचमान चोक नामाकरण गरिएको थियो । राजनीतिक चलखेलकै कारण चोकमा राखिएको मरिचमानको र्बोड हटाइएको उनको आरोप रहेको छ ।

 

चोकमा बोर्ड राख्दासवारी दुर्घटनाको जोखिम हुने भएकाले हटाइएको प्रहरीको भनाइ छ । स्थानीय तहबाट मात्र सिफारिस नभइ सडक विभाग र केन्द्रीय सरकारसँग शालिक निर्माण गर्न सहमतिपत्र ल्याउनु पर्नेमा नियमअनुसार नभएकाले बोर्ड हटाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । हटाईएका तस्बिर, ड्रम जस्ता सामग्री सुरक्षित राखिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० वैशाख ५ गते मंगलबार