
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा सञ्चालन गरेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानको कर्णाली प्रदेशस्तरीय समीक्षा सम्पन्न भएको छ । सोमवारदेखि सुरु भएको दुईदिने समीक्षा मंगलवार सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्वका लागि एमालेलाई पहिलो पार्टी बनाउन दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको बताए। उनले यस पटकको निर्वाचनमा एमालेले सोचेजस्तो परिमाण प्राप्त गर्न नसकेको भन्दै आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने बताए।
उनले भने, ’यसपटकको निर्वाचनमा एक्लाएक्लै चुनाव लडेको भए एमालेले अहिलेको भन्दा दोब्बर मत प्राप्त गर्ने थियो,तर कुनैपनि पार्टी एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा थिएन ।’ अबको पाँच वर्षपछि एमालेले कार्यकर्ताको मन जितेर बलियो पार्टी बन्ने बताए ।
साथै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको भविष्यसमेत नभएको दाबी गरे । ‘एमाले सरकारमा गएको बेला आर्थिक संकट सुध्रिएको थियो, अहिले आर्थिक संकटको अवस्था सबैलाई थाहा नै छ,’ उनले भने, ’त्यसैले अहिलेको सरकार भनेको मन्त्री, मुख्यमन्त्री मात्रै जन्माउने हो ।’
उनले कर्णाली राजमार्ग, कर्णाली करिडोरलगायतका निर्माण कार्य एमालेले गरेको समेत दाबी गरे । यस्तै, कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुबास नेम्वाङले एमाले पार्टी देश र जनताको हितमा चलेको बताए । उनले आउँदो निर्वाचनमा एमालेलाई पहिलो पार्टी हुनबाट कसैले पनि रोक्न नसक्ने समेत दाबी गरे ।
उपाध्यक्ष नेम्वाङले वर्तमान सरकार मूलुक र जनताका समस्या समाधान गर्ने भन्दा पनि सत्ता भागबण्डामै अल्झिएको टिप्पणी गरे ।सरकार पदवाँडफाँडको गोलमालमा फसेको टिप्पणी गर्दै उनले सरकारले संसदलाई विजनेश दिन नसक्दा संसद कामविहीन भएको आरोप लगाएका थिए ।
मिसन ग्रासरुट अभियानका सन्दर्भमा उपाध्यक्ष नेम्वाङले अभियान सफल निश्कर्षमा पुगेको धारणा राखे । एउटा अभियान सकिएपनि जनतामाँझ पुग्ने यस्ता अभियान निरन्तर सञ्चालन गर्ने उनको भनाई छ । यस्तै, नेकपा एमालेका स्थायी कमिटी एवम् कर्णाली इञ्चार्ज यामलाल कँडेलले एमाले पार्टी आगामी दिनमा फरक तरिकाले जाने बताए ।
उनले सञ्चालन भएको दुईमहिने अभियान अहिलेमात्र नभई ०८४ सालसम्म निरन्तर चलिरहने बताएका थिए । कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फे लगायतले सम्वोधन गरेका थिए ।