२०८३ वैशाख ७ , सोमबार

स्वास्थ्य सेवा कार्यालय हुम्लालाई औषधि सहयोग



हुम्ला । हिमाली जिल्ला हुम्लाको स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग गरिएको छ । जिल्ला अस्पतालमा औषधिको अभाव भएको भन्दै सञ्चारमाध्यममा सार्वजनिक भएपछि काठमाडौंमा रहेको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको हो ।

 

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले ट्रष्टबाट ३ सय १८ प्रकारका औषाधि प्राप्त गरेको बताए ।  ट्रष्टका अध्यक्ष प्रकाश कार्की र व्यवस्थापक रमेश श्रेष्ठको टोली जिल्लामै आएर औषाधि हस्तान्तरण गरेको हो । औषधिको मूल्य साढे चार लाख बराबर रहेको छ ।

 

अध्यक्ष कार्कीले आफू काठमाडौंमा रहेको समयमा बिकट हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा औषधि अभाव भएको समाचार पढेपछि औषधि सहयोग गर्न मन लागेको बताए । टोली हवाई टिकट नपाएर आठ दिनपछि औषधिसहित बुधवार हुम्ला आएको हो ।

 

कार्कीले औषधि हस्तान्तरण कार्यक्रममा अस्पताललाई अन्य बेला औषधिको समस्या भए औषधिको नाम लिष्टसहित पठाउनसमेत अस्पताललाई आग्रह गरे । उनले अब हरेक वर्ष एक पटक औषधि ल्याएर आफू हुम्ला आउनेसमेत प्रतिबद्धता व्यक्त गरे ।

 

उनले न्यून आयश्रोत भएका ५० जना दीर्घरोगी सधैं औषधि प्रयोग गर्ने व्यक्तिलाई सधैंका लागि औषधि निःशुल्क उपलब्ध गराउनसमेत तयार रहेको बताए ।

प्रकाशित मिति : २०८० वैशाख ७ गते बिहीबार