सुर्खेत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर कमिटी सुर्खेतको नगर अधिवेशनमा महासंघका अध्यक्ष र केन्द्रीय सदस्यले एकलौटी निर्णय गरेको पाईएको छ । शुक्रवार वीरेन्द्रनगरमा भएको अधिवेशनमा महासंघको विद्यान अनुसार नभई अध्यक्ष र केन्द्रीय सदस्यले एकलौटी निर्णय गरी दुई सय रुपैयाँ उठाउनु पर्नेमा ५ हजार रुपैयाँ समेत उठाईएको पाईएको छ ।
उक्त निर्णयमा धेरै जनाको असहमति हुँदा पनि महासंघको अध्यक्ष चयन गर्नेमा उनीहरुले एकलौटी निर्णय गरी शंकर अधिकारीलाई अध्यक्षमा चयन गरेका छन् । अर्का अध्यक्ष पदमा दाबी गरेकी बिमला थापाको कुनै पनि कुरालाई सुनवाई नगरि अधिकारीलाई अध्यक्ष बनाएको समितिका एकजना पदाधिकारीले जानकारी दिए ।
उनका अनुसार अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको प्रति करिब २४ जनाले असन्तुष्टि जनाएका थिए । उनीहरुले असन्तुष्ट जनाउँदै थापाको नेतृत्वमा समानन्तर कमिटी गठन समेत गरेको छ ।
जसको उपाध्यक्षमा शेरबहादुर सिंह, सचिवमा शिवराज अधिकारी र कोषाध्यक्षमा मान कुमारी आर्चाय रहेको अध्यक्ष थापाले जानकारी दिईन् । यस्तै सदस्यहरुमा डिलबहादुर खड्का, भिमसरा खत्री गीता सुनार र टोपबहादुर खड्का चयन भएका छन् ।


