जाजरकोट । जाजरकोटका स्थानीय तहहरू विगत लामो समयदेखि निमित्तको भरमा चल्दै आएका छन् । स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहमा कर्मचारीको अभाव भएपछि ती कार्यालयहरू निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् । जाजरकोटका ७ वटा स्थानीय तह मध्ये ३ वटा स्थानीय तहले लामो समयदेखि निमित्तकै भरमा आफ्नो कामकारबाही सञ्चालन गर्दै आएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपसचिवको दरबन्दी तोकिए पनि जिल्लाका तीन वटा पालिका निमित्तका भरमा छन् । छेडागाड नगरपालिका, कुशे गाउँपालिका र शिवालय गाउँपालिका लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् । छेडागाड नगरपालिका विगत साढे तीन वर्षदेखि निमित्तको भरमा चल्दै आएको छ ।
यहाँ हाल गंग बहादुर रोकाय निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका छन् । २०७७ असारमा खगेन्द्रप्रसाद रिजालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी त्यागेपछि छेडागाड निमित्तको भरमा चल्दै आएको हाे । त्यहाँ ६ वर्षमा ८ जना भन्दा बढी कार्यालय प्रमुख आइसकेका छन् ।
स्थानीय सरकारका रूपमा परिचित स्थानीय तह नै निमित्त कर्मचारीको भरमा सञ्चालन हुँदा सेवा प्रवाह प्रभाकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ । यता, नगरपालिकाले भने कुनै पनि सेवा प्रवाहमा प्रभावित नभएको जनाएको छ । नगरपालिकाबाट हुने विभिन्न सेवाहरू हुने कुनै पनि प्रभावित नभएको नगरपालिकाका सूचना अधिकारी देव बहादुर बुढाले जानकारी दिए ।
‘मन्त्रालयको कमजोरी छ किनकि मन्त्रालयले कर्मचारी नै पठाउँदैन’ बुढाले भने ‘निमित्त हुनु र प्रमुख प्रमुख प्रशासकीय हुनुमा धेरै फरक पर्छ तैपनि मन्त्रालयले आर्थिक कारोबार गर्न मिल्ने गरी उहाँलाई चिठी पठाएको छ । त्यति काम प्रभावित भएको छैन ।’ यस्तै अर्को कुशेमा पनि विगत डेढ वर्षदेखि निमित्त कार्यालय प्रमुखबाटै सेवा प्रवाह भइरहेको छ ।
त्यहाँ लाल भक्त शाहीले निमित्तको जिम्मेवारी लिएका छन् । उनले २०७८ माघमा मानबहादुर गिरीले देखि निमित्तको जिम्मेवारी पाएको सूचना अधिकारी खेमराज अधिकारीले जानकारी दिए । उनले पनि पालिकाबाट दिइने कुनै पनि सेवाहरू प्रभावित नभएको दाबी गरे । कुशेमा ६ वर्षमा कति हाकिम आए त्यसको तथ्याङ्क समेत गाउँपालिकामा नभएको सूचना अधिकारी बताउँछन् ।
यस्तै, शिवालय गाउँपालिकाको अवस्था पनि दयनीय छ । शिवालयमा पनि ६ वर्षमा १० जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यहाँ हाल दलबहादुर बाँठाले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । २०७९ साउनमा राजेन्द्रकुमार चन्द अन्य जिल्लामा सरुवा भएपछि २०७९ भदौ एक गतेबाट उनले निमित्तको जिम्मेवारी पाएका हुन् । बाँठा पनि शिवालयमा कति समय टिक्छन् भन्ने कुनै टुंगो छैन ।
स्थानीय तह नै लामो समयदेखि निमित्तको भरमा चलाउँदा विकास र आर्थिक प्रशासन प्रभावकारी नहुने नागरिक समाजका अगुवाहरू बताउँछन् । कार्यालय प्रमुख जस्तो पदमा योग्य कर्मचारी ल्याएर स्थानीय तहको काम चुस्त बनाउनुपर्ने उनीहरू बताउँछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो कुरामा विशेष ध्यान दिनुपर्ने भए पनि त्यसतर्फ मन्त्रालयले ध्यान नदिएको जनप्रतिनिधिको भनाई छ ।