जाजरकोट । जाजरकोटमा जंगली जनावर र पन्छीको चोरीसिकार गर्ने क्रम बढेको छ । जिल्लाको शिवालय गाउँपालिकामा पछिल्लो समय गर्मी सुरु भएसँगै जंगली पशुपन्छी शितल खोज्न रुख विरुवामा बसेको मौका छोपी सिकारीले सिकार गर्ने गरेका छन ।
सिकारीहरूले बन्दुक, हँसिया, लाँठी, पाँसो लगायत घरेलु हतियार प्रयोग गरी बँदेल, कालिजको सिकार गर्ने गरेका छन् । शिवालय गाउँपालिकाको थालारैकर, काउँला लयकाडा लगायतका विभिन्न वन क्षेत्रमा चोरीसिकारी भइरहेको स्थानीयले बताएका छन् ।
केही वर्षअघि गाउँनजिकै प्रशस्त पाइने कालिज आजभोलि भने देख्नै मुस्किल भइरहेको शिवालय गाउँपालिका ५ का वडा सदस्य गौरु शाहीले बताए । ‘केही वर्ष पहिलेसम्म यँहा कालिज, बँदेल लगायतका पशुपन्छी प्रशस्तै पाउँथे ।
तर, अहिले लेकतिर मात्र फाट्टफुट्ट भेटिन्छन्,’ शाहीले, ‘हरेक वर्ष यँहा जुनसुकै मौसममा पनि चोरीसिकारी हुन्छ । तर, सम्बन्धित निकायले भने नियन्त्रणका लागि पहल नै गर्दैन ।’ शिवालयमा जंगली जनावर तथा पन्छीको मासु बिक्री हुँदासमेत यसतर्फ कसैको पनि ध्यान पुग्न नसकेको उनको गुनासो छ ।
बेलाबेलामा स्थानीय प्रशासन र अन्य निकायसँग आफुले चोरीसिकारी नियन्त्रणका लागि समन्वयमा गरेको भएपनि नियन्त्रण भने हुन सकेको उनको भनाई छ । विशेषगरी शिवालयमा पाँसोमा पारेर कालिजको चोरी सिकारी हुने गरेको छ ।
भौगोलिक विकटता, जनशक्ति अभाव भएकाले चोरीसिकारीको नियन्त्रण गर्न कठिन भइरहेको स्थानीय प्रशासनले जनाएको छ । नियन्त्रणका लागि कुन ठाउँमा सिकार हुन्छ भन्ने केही पनि थाहा जनप्रतिनिधिको भनाई छ ।
स्थानीयले पनि चोरीसिकारी भइरहेको बारे जानकारी नदिँदा नियन्त्रण गर्न समस्या भइरहेको उनीहरुको भनाई छ । आईतवार मात्रै थालारैकरमा तीन जनाले तीन वटा कालिज मारेको वडा सदस्य शाहीले जानकारी दिए ।