सुर्खेत । बैशाख २० देखि २२ गते सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘१२ औँ नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालले मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी महोत्सव बुधवारबाट सुर्खेतमा सुरु हुने जानकारी दिएको हो ।
महोत्सवको पहिलो चरण सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालय वैशाख १५ देखि १७ गतेसम्म भएको थियो । दोस्रो चरण फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालयको हलमा आयोजना हुने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोता डेप्रेजले जानकारी दिइन् ।
बुधवारबाट सुरु हुने महोत्सवमा ८ वटा नेपाली लघु र ८ वटा युरोपेली गरी करिब १६ वटा चलचित्र प्रदर्शन गरिने भएको छ । मानवअधिकारको नारा लिएर मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजना गर्न लागिएको फिल्म फेस्टीभलमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु फिल्महरू समेत प्रदर्शन गरिने नेपालका लागि राजदूत डेप्रेजले जानकारी दिईन् ।
महोत्सवमा चलचित्रको प्रशंसा, चलचित्रलाई कसरी बुझ्ने, ‘मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका’ जस्ता विषयमा समेत छलफल गरिने डेप्रेजले बताईन् । उनका अनुसार यसको सञ्चालन चर्चित चलचित्र निर्माता तथा निर्देशक राजेश गोगजुले गर्नेछन् । गोगजुले सन् २००० दखि थुप्रै अवार्ड समेत प्राप्त गरिसकेका छन् ।
महोत्सको सुरुवात भने ‘एनी डे नाउ’ शीर्षकको चलचित्रबाट सुरु हुने छ । यस फिल्मले आप्रवासनको कथालाई प्रस्तुत गरेको बताईएको छ । सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा शुरु भएको फिल्म महोत्सव सुर्खेत हुँदै जेठ १ गते चलचित्र विकास बोर्डको हल काठमाडौँमा सम्पन्न हुनेछ ।
महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरूमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अस्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनसले निर्देशन गरेका इनभिजिवल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्याण्डस्) रहेका छन् ।
यसैगरी महोत्सवमा टोनी ह्यागेन फाण्डेशनको आर्थिक सहायतथामा निर्माण भएका नेपाली फिल्महरु समेत प्रदर्शन गरिनेछ । नेपाली फिल्महरू अङ्कित खड्गीको निर्देशनमा बनेको ‘आई वान्टेड टु बी लाईक माधुरी दिक्षित’, विशाल रोक्का मगरको ‘गोर्खा गर्ल’ ग्रीष्म गिरीको ‘ब्लुज अफ पिंक’, मिन्शो लिम्बूको ‘जुनको’, सुनिल पाण्डेको ‘बागथान’, पुनम पौडेलको ‘लिभिङ्ग विथ डिग्नीटी’, दीपक रौनियारको ‘फोर नाइटस्’ र दीपा श्रेष्ठको ‘ड्रिफ्टिङ्ग क्लाउडस्’ जस्ता चलचित्र निःशुल्क हेर्न सकिने आयोजकले जनाएको छ।
महोत्सवको क्रममा देखाईने तीनवटा युरोपियन फिल्महरु एनीडे नाउ, मित्र र इमादज चाईल्डहुडमा नेपाली उपशिर्षक पनि हुनेछन् । यसवर्षको नेपाल युरोपियन फिल्म फेस्टीभलको ब्राण्ड एम्ब्यासडरको रुपमा नेपालकी चर्चित अभिनेत्री मिरुना मगर रहेकी छन् ।
