२०८३ वैशाख ७ , सोमबार

विश्वविद्यालयलाई छोरा जस्तै सम्झेको छु : उपकुलपति सिंह



सुर्खेत । विवादै विवादमा घेरिएको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहले मंगलवार आफ्नै निवासमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलन गर्नुपर्ने प्रमुख विषय थियो, निजी कलेजलाई सम्बन्धन दिने निर्णय र यसले सिर्जना गरेको विवाद ! विश्वविद्यालयले केही समयअघि निजी कलेजलाई समेत सम्बन्धन दिनेगरी सूचना प्रकाशित गरेपछि विद्यार्थी सङ्गठन र प्राध्यापक संघ, संगठनहरु बिच विवाद भएको छ ।

 

उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई निजीकरण गर्न खोजेको भन्दै केही दिनअघिदेखि विद्यार्थी संगठनहरु आन्दोलित छन् । सोही विषयलाई लिएर मंगलबार आफ्नै निवासमा राखेको पत्रकार सम्मेलनमा उनले आफूले विद्यालयलाई छोरा जस्तै सम्झेको भन्दै भावनात्मक भनाइ राखे । उनले निरन्तर डेढ घण्टा भन्दा बढी एमयूको बारेमा जानकारी गराए ।

 

आफू विद्यालयमा आएपछि धेरै कुरामा परिवर्तन भएको पनि दाबी गरे । सिंहले आफूले ऐन नियममै भएको व्यवस्थामा टेकेर सम्बन्धनको विज्ञापन खुलाएको पटकपटक दाबी गरे । सम्बन्धन दिने विषयमा केही “क्राइटेरिया“ रहेको र त्यसैको जगमा टेकेर सम्बन्धन दिइने उनको भनाइ थियो । यति बताईरहदापनि उनी समयसमयमा आक्रोशित र चिन्तित देखिन्थे ।

 

उनले आफू मध्यपश्चिम विश्व विद्यालयमा आउनुभन्दा पहिले विद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आउने गरेकोमा त्यसलाई सुधार गरेर थिति बसालेको दाबी गरे । उनले पत्रकार माँझ भने ‘पहिले यस विद्यालयमा अख्तियार आउने गथ्र्याे । जब म यहाँ आए त्यसपछि युरोपियन युनियनकी राजदूत, विभिन्न राष्ट्रका नागरिक आउने गरेका छन् । यसले विद्यालयलाई नै फाइदा भएको छ ।’

 

उनले आफू भ्रष्टाचारको लडाई लडेर आएको भन्दै स्वव्याख्या र विश्लेषणमा धेरै समय खर्चे । उनले दाबीका साथ भने ‘म आउने बेलामा यहाँको बेरुजु रकम साढे ४० करोड भन्दा बढी थियो । जब म आए अहिले मैले घटाएर ३ करोड ५२ लाख बनाएको छु। नेपालकै सबैभन्दा बढी बेरुजु रकम फ्छयौट गर्नेमा हामी पर्छौ ।’

 

पत्रकार सम्मेलन भएको उनको निवास बाहिर विद्यार्थीहरु आन्दोलित भई करिब १७ दिनदेखि रिले अनशनमा बसेका छन् । तर भित्र भने उनले आफ्नो राम्रो कामले विश्वविद्यालयले राम्रो मात्रै गरेको जानकारी दिए । उनले गत वर्ष मध्यपश्चिम विश्वविद्यालयको पुँजीगत खर्च ९९ प्रतिशत पुगेको र अहिले १०० प्रतिशत पुँजीगत खर्च भएको ठोकुवा गरे ।

 

उनले खर्च भएको रकम कामबाटै सबै देखिने बताए । उपकुलपति सिंहले विश्वविद्यालयमा आफु आफ्नो भविष्य बनाउने उद्देश्यले नभई कर्णालीका गरिब जनताको भविष्य बनाउने हिसाबले आएको बताए । ‘म कर्णालीका गरिब जनताको भविष्य बनाउने हिसाबले आएको छु,’

 

उनले भने, ‘म कसैलाई घुस दिन्न, कमिसन खान पैसा कमाउन आएको छैन । पैसा कमाउने भए त म धेरै देशमा गइसकेको मान्छे हुँ । मेरो एउटा छोरी छ, तर छोरा छैनन्, यही विद्यालयलाई छोरा सम्झेर रातदिन नभनी खटिएको छु । म यहाँ आउनु गलत हो मैले गरेको परिवर्तन गलत हो ?’

बाहिर १७ दिनदेखि रिले अनशनमा बसेका विद्यार्थीहरु शत्रु नभई कर्णालीमा भएको रोग, भोक, गरिबी अशिक्षा र पछौटेपन आफ्नो लागि दुस्मनी भएको बताए। अन्य विश्व विद्यालय भन्दा मध्यपश्चिम विश्वविद्यालय शैक्षिक गुणस्तरमा किन कमजोर भयो भनी पत्रकारले गरेको प्रश्नमा उपकुलपतिले मध्यपश्चिम विश्वविद्यालय सञ्चालनमा आएको १२ वर्षमा आफु आएको ३ वर्ष मात्रै भएको उल्लेख गरे ।

 

उनले यो छोटो समयमा कसरी शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिन्छ भन्दै प्रती प्रश्न गरे । विद्यार्थी संगठनहरुले तपाईंहरुसंग साँच्चिकै विद्यार्थीका मागहरू राखेर आन्दोलन गर्छन् कि केही आर्थिक बार्गेनिङ र नजिककालाई जागिर र नजिककालाई जागिर लगाउनका लागि गर्छन भन्ने प्रश्नमा आफुले अरूलाई जागिर लगाइदिने नगरेको बताए ।

 

उनले भने,’ म कसैलाई एक रुपैयाँ दिन्न । पहिले जस्तो अहिले छैन । मैले सही निर्णय लिएको छु भने म मरे पनि आफ्नो निर्णयबाट पछि हट्दिन । म पैसा कमाउनका लागि नभई विश्वविद्यालयको उन्नति र शैक्षिक “हब“ बनाउने उद्देश्यसहित आएको छु।’ सिंहले आफूलाई फेसबुके भिसी भनेर अपमान र तिरस्कार गरिरहेको भन्दै यसले निराश बनाउने गरेको बताए ।

 

उनले सम्पूर्ण राजनीतिक दलहरूलाई आफ्ना विद्यार्थी सङ्गठनलाई सम्झाउन आग्रह गर्दै सबै सभ्य हुनुपर्ने तर्क गरे । ‘विद्यार्थी त नबुझेरै आन्दोलन गर्नु हुन्छ । यो भन्दा पहिले त घरमै बसेर परीक्षा दिन पाउँ भनी आन्दोलन गर्नुभएको थियो,’ उनले भने, ‘उहाँहरु यस्ता नचाहिने विषय लिएर आन्दोलन गर्नुहुन्छ अनि कसरी सहमति हुन्छ ।’

 

उपकुलपति सिँहले आफू कर्णालीकै भएकाले कर्णालीको शैक्षिक उन्नतिकै लागि भनेर कर्णालीमा आएर काम गरेको तर त्यसको जस पाउनुको सट्टा विरोध नै विरोध भइरहेको भन्दै गुनासो पोखे । सिंहले विद्यार्थीलाई उचाल्ने काम प्राइभेट क्याम्पस चलाएका र मध्यपश्चिम विश्वविद्यालयमा पढाइरहेका केही प्राध्यापकहरूले गरिरहेको बताए ।

 

यति मात्र होइन तीनै व्यक्तिले विश्वविद्यालयमा कुलपति एवं प्रधानमन्त्री प्रचण्ड कहाँ पुगेर नै आफुविरुद्ध कुरा लगाउने कामहरू भइरहेको बताए । सोमबार काठमाडौँबाट फर्किएका उपकुलपति सिंह निवासमै रहेको जानकारी पाएपछि विद्यार्थी सङ्गठनका नेताहरू त्यहीँ पुगेर रिले अनशनमा बसेका छन्।

 

सिंहले समस्याको समाधान गर्न जिल्ला प्रशासन कार्यालय लगायतका ठाउँबाट मात्रै सम्भव हुने बताए। उनले सहमति हुने बेलामा सभ्य भाषा प्रयोग गर्न, कालो मोसो दल्ने चेतावनी नदिन र गाली गलौच नगर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८० वैशाख १९ गते मंगलबार