२०८३ वैशाख ७ , सोमबार

पक्की पुलको विकल्पमा बेलिब्रिज निर्माण गरिने



जाजरकोट । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । यसका लागि तीन ठाउँमा सर्वे भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले जानकारी दिए ।

 

भेरी नगरपालिकाको–११ र १३ का तीन स्थानमा सर्वे भएको उनको भनाइ छ । नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताए ।

 

पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ ।  सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौंविरुद्ध समयमै काम नगरेको भन्दै आठ करोड ५७ लाख ९५ हजार ६२६ जरिवाना समेत गरेको छ ।

 

सरकारको उक्त निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको छ । निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि काम गर्न अटेर गरेपछि गत मंसिर २९ मा विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्द गरिएको निर्देशनालयका डिभिजन प्रमुख इन्जिनियर युवराज पोखरेलले बताए ।

प्रकाशित मिति : २०८० वैशाख २६ गते मंगलबार