
सुर्खेत । देशभर तीव्र रूपमा फैलिएको लम्पी स्किन रोग अर्थात् छालामा हुने गिर्खा रोग कर्णालीका सबै जिल्लामा देखिएको छ । केही दिन अघिसम्म कर्णालीका सात वटा जिल्लामा मात्रै देखिएको अहिले भने सबै जिल्लामा यो रोग देखिएको छ ।
तीन वर्षअघि भारत र बङ्गलादेशमा देखिएको यो रोग दुई वर्षअघिदेखि नेपालमा पनि भित्रिएको थियो । यस पटक पनि यो रोग फैलिएपछि कृषि पेसामै आत्मनिर्भर रहेर जीवन धान्दै आएका किसानले ठुलो रूपमा नोक्सानी बेहोर्नुपरेको छ ।
सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, र हुम्लाका गाई र भैँसीमा ‘लम्पी स्किन’ रोग भने व्यापक रूपमा फैलिएको छ । सङ्क्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन् भने कैयौँ चौपायाको यसै रोगका कारण मृत्यु समेत भइसकेको छ ।
पशुपन्छी विकास निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशका दश वटै जिल्ला गरी दुई लाख बढी गाईभैंसीमा यो रोग देखा परिसकेको जनाएको छ । यो रोगबाट कर्णाली प्रदेशमा सबैभन्दा बढी सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत र हुम्ला जिल्ला प्रभावित बनेको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले खबरदृष्टिलाई जानकारी दिए ।
यो रोग भयावह रूपमा देखिँदै गए पनि रोकथामका लागि भने प्रभावकारी पहल हुन सकेको छैन । यस अघिसम्म गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय भैँसीमा समेत देखिएको छ । पशुपन्छी विकास निर्देशनालयका निमित्त निर्देशक कृष्ण प्रसाद पंगेनीका अनुसार कर्णालीका १० जिल्लामध्ये ७ जिल्लामा यो रोग महामारीका रूपमा फैलिरहेको छ ।
उनले यसमध्ये पनि सबैभन्दा बढी सल्यान जिल्ला प्रभावित बनेको जानकारी दिए । रुकुम पश्चिममा एक सय, सल्यानमा ३५, सुर्खेतमा ५ पशु यो रोगबाट मरिसकेको जानकारी दिए । उनले यो रोग लागेमा दुधालु गाई र भैँसीको दुध उत्पादनमा करिब ८० प्रतिशत ह्रास आउने बताए । साथै यो रोग लागेमा १५ प्रतिशत भन्दा बढी चौपाया मर्ने सम्भावना हुने बताए ।
मुगु, जुम्ला र डोल्पाबाट पनि केही दिन अघिसम्म यो रोग नदेखिएकोमा हाल भने यहाँ पनि यो रोग देखिएको निर्देशनालयका सूचना अधिकारी गिरीले जानकारी दिए । जाजरकोट पशु सेवा कार्यालयका अनुसार जुनिचाँदे, भेरी, शिवालय, छेडागाड, नलगाड लगायतका पालिकामा रोगको प्रकोप अत्यधिक बढेको छ ।
जाजरकोटमा यही रोगका कारण केही चौपाया मरिसकेको पशु सेवा कार्यालयले जनाएको छ । यस्तै सुर्खेतको सिम्ता गाउँपालिकामा पनि यो राग भयावह बन्दै गएको छ । विशेष त यो रोग बजार भन्दा बढी गाउँघरमा देखिन थालेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुपन्छी महाशाखाका अधिकृत प्रचण्ड खड्का अनुसार सल्यानका सबै पालिकामा रोग फैलिएको छ ।
प्रदेशबाट विज्ञको टोली पुगेर सल्यान र रुकुम पश्चिममा रोग नियन्त्रणबारे अन्तरक्रिया समेत गरेको छ । यस्तै, निर्देशनालयबाट पनि विज्ञको टोली पुगेर कालिकोट, मुगु र जुम्लामा पुगेर यो रोग नियन्त्रणबारे जानकारी गराइसकेको गिरीले जानकारी दिए ।
‘लम्पी स्किन’ रोग भनेको के हो ?
‘लम्पी स्किन’ रोग भनेको क्याप्रिपक्स भाइरसका कारण गाई भैँसीमा लाग्ने अत्यधिक सङ्क्रामक रोग हो । यस रोगका मुख्य लक्षणहरूमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखिन्छन् ।
यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने बाँझोपन हुने र गर्भ तुहिने सम्भावना बढी रहने पशु चिकित्सक बताउँछन् । रोगी पशुहरूमा (१०४–१०५) डिग्री फरेनहाईट ज्वरो आउने, अरुचि हुने र झोक्राउने लक्षण देखिन्छ ।
त्यसको २–३ दिनमा पशुको शरीरभरि नै छालामा गिर्खा र गाँठाहरू देखिन सुरु गर्छन् । यस्ता गिर्खा र गाँठाहरूमा पिप जम्मा भई यो घाउमा परिणत हुन्छ र यसमा जीवाणुजन्य सङ्क्रमण भई समस्या झन् बढ्दै जाने निर्देशनालयका निर्देशक पंगेनी बताउँछन् ।
बिस्तारै शरीरका भित्री अङ्गहरू जस्तैः पेट, फोक्सो, श्वास नलीमा पनि यस्ता गिर्खा र गाँठाहरू बढ्न गई निमोनिया हुने समेत उनी बताउँछन् ।
उनका अनुसार खुट्टा र शरीरको तल्लो भागमा भएका यस्ता सङ्क्रमणले गर्दा पशुहरू हिँड्न नसक्ने भई बसिरहने, थुन र कल्चौँडोमा भएका यस्ता गिर्खा र गाँठाहरूमा जीवाणुजन्य सङ्क्रमण हुन गएमा थुनेलो हुने देखि थुन नै झर्ने कुनै पशुहरूमा गर्भ तुहिने, पाठेघरमा समस्या देखिने र गर्भ नअडिने जस्ता समस्या आउने गर्दछन् ।
यो रोग लामखुट्टे, किर्ना र भुसुना जस्ता किराहरूले विषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । यसको अलावा रोगी पशुहरूको सिँगान, दूध, र घाउबाट निस्केको पिप, रगत, जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्ने पशु चिकित्सक बताउँछन् ।
भ्याक्सिनको लागि मन्त्रालयमा ५ लाख बजेट ?
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रोग नियन्त्रणका लागि ५ लाख बजेट मन्त्रालयमा तयार रहेको बताएका छन् ।
उनले भ्याक्सिन खरिदका लागि ५ लाख बजेट तयार रहेको र थप बजेटको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा पहल भइरहेको जानकारी दिए । उनले भ्याक्सिन महँगो भएकाले समस्या भइरहेको मन्त्रालयले बताए ।
कठायतले कर्णाली प्रदेशका १० जिल्लाका लागि २५ हजार भन्दा बढी भ्याक्सिन ल्याउने तयारी भइरहेको भए पनि मन्त्रालयमा बजेटको अपुग भएकाले भ्याक्सिन ल्याउनमा समस्या भएको जानकारी दिए । अबको केही दिनमा भ्याक्सिन ल्याएर प्रत्येक जिल्लामा पठाउने उनले बताए ।