२०८३ वैशाख ७ , सोमबार

इन्द्र ज्योति माविको विद्यार्थीबाट पैसा असुली धन्दा



जाजरकोट । जाजरकोटका सामुदायिक विद्यालयले परीक्षा आउने दिन कुरेर विद्यार्थीहरुबाट मनोमानी तरिकाले पैसा उठाउने गरेका छन् । परीक्षा आउन हप्ता दिन बाँकी हुँदा विद्यालय प्रशासनले कसरी पैसा असुल्ने भनी योजना बनाउन सुरु गर्छन ।

 

परीक्षाको अघिल्लो दिनसम्म शिक्षकले आफ्नो हातमा प्रवेशपत्र लिएर पैसा नदिने बेलासम्म दिँदैनन् । यतिसम्म कि पैसा उठाउने निर्णयबारे विद्यालयका व्यवस्थापन समितिका अध्यक्षलाई समेत थाहा हुँदैन । परीक्षा आउने समयमा सामुदायिक विद्यालयले कमाऊ धन्दा नै सुरु गर्छन् ।

 

कमाऊ धन्दामा जाजरकोटका धेरैजसो विद्यालय लागिरहन्छ । विद्यालयहरुले विभिन्न बहाना बनाएर पैसा असुल्ने गरेका छन् । शिवालय गाउँपालिका ६ को इन्द्र ज्योति माविले विगत देखि नै परीक्षामा मनोमानी तरिकाले पैसा असुल्ने गरेको छ ।

 

यो विद्यालय पैसा असुल्ने विद्यालयमा एक नम्बर ओगटेको स्थानीय अभिभावकहरु बताउछन् । इन्द्र ज्योति माविमा प्रत्येक वर्ष परीक्षाको बेलामा शिक्षकहरूले मनोमानी तरिकाले पैसा उठाएको गुनासो नआएको होइन । यस वर्ष पनि उक्त विद्यालयले एसइईदेखि कक्षा १२ को परीक्षामा समेत पैसा उठाउन छोडे्न ।

 

मंगलवार देखि सुरु भएको कक्षा १२ को परीक्षामा विगतका वर्ष जस्तै यस वर्ष पनि विद्यालयले व्यावहारिक (प्राकटिकल) नम्बर दिने सर्तमा पैसा असुल गरेको पाइएको छ । जाजरकोटको कुशे गाउँपालिकामा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोर्न सहज बनाइदिने भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ ।

 

विद्यालयले मंगलवार परीक्षा सुरु हुनुभन्दा अघिल्लो दिन सोमवार विद्यार्थीको प्रवेश पत्र साथमा राखेर कुनै विद्यार्थीहरुबाट एक हजार र कुनै विद्यार्थीहरुबाट दुई हजारसम्म पैसा लिने गरिएको शिवालय गाउँपालिका ५ का वडा सदस्य गौरु शाहीले बताए ।

 

विद्यालयले शिक्षण अभ्यास नगरेको र व्यावहारिक नम्बर दिने भन्दै आफूबाट २ हजार पैसा लिएको इन्द्र ज्योति माविमा अध्ययनरत एक परीक्षार्थीले बताए ।  सुरुमा आफूसँग शिक्षकले किन पैसा मागे भनी अन्योलमा परेको उनको भनाइ छ ।

 

‘म प्रवेश पत्र ल्याउन गए । नाम नबताउने शर्तमा उनले भने, सरले पैसा माग्नुभयो । सुरुमा सरले पैसा किन माग्नुभयो भनी म अलमलमा परे,’ ‘पछि बुझ्दै जाँदा प्राटिकल (व्यावहारिक) नम्बर चढाउने रहेछ । पैसा बुझाएर रसिद माग्दा विद्यालयले दिएन ।’

 

इन्द्र ज्योति माविकी प्रधानाध्यापक सर्मिला रावलले आफूहरूले विद्यार्थीबाट पैसा लिएको स्वीकार गरेकी छन् । उनले विद्यालयको दरबन्दी स्रोत नभएकोले खर्च व्यवस्थापनका लागि विद्यार्थीबाट सहयोग उठाएको उनले बताईन ।

 

प्रअ रावलले जाजरकोटका सबै विद्यालयले पैसा लिने गरेको उल्लेख गरिन । ‘हाम्रो विद्यालयले मात्रै होइन । जाजरकोटका अधिकांश विद्यालयले पैसा लिने गरेका छन्, उनले भनिन,’ तपाईँले अन्य विद्यालयमा पनि बुझ्न सक्नुहुन्छ । हामीले विद्यार्थीहरूकै सहजको लागि पैसा लिएका छौ । यो धेरै ठुलो कुरा होइन । मलाई त्यस्तो केही पनि लाग्दैन । यदि गलत हो भने तपाई आउनुहोस् मलाई हत्कडी लगाएर कहाँ लग्ने हो लैजानुस ।’

 

उनले परीक्षा केन्द्रमा खटिएको शिक्षकहरूको खाना खर्चसमेत हुने भएको हुँदा विद्यार्थीहरुबाट पैसा लिनुपर्ने बाध्यता रहेको बताईन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई समेत खबर किन गर्नुभएन भन्ने प्रश्नमा उनले यस्तो सामान्य कुरा पनि अध्यक्षलाई जानकारी दिनुपर्छ भन्ने आफुलाई नलागेको हुँदा अध्यक्षलाई जानकारी नदिएको बताईन् ।

मलाई जानकारी छैन् : अध्यक्ष शाही
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार शाहीले आफुलाई जानकारी नभएको बताए । विद्यार्थीहरुबाट २ हजार पैसा लिने कुनै निर्णय नभएको उनको भनाइ छ ।

 

उनले विद्यालयले पैसा उठाएको विषयमा वास्तविकता बुझेर मात्रै जवाफ दिने उनको प्रतिक्रिया छ । उनले भने, ‘म नेपालगञ्ज छु, विद्यालयले पैसा नउठाउनु थियो, किन पैसा उठाएको रहेछ ?’ मलाई कुनै जानकारी नभएको उनले बताए ।

लिखित रूपमा जानकारी आए कारबाही गर्छु : शाखा प्रमुख बस्नेत

शिवालय गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर बस्नेतले विद्यालयले पैसा उठाएको आफूलाई कुनैपनि जानकारी नभएको बताए । उनले आफू मंगलवार दुई विद्यालयमा अनुगमनमा गएको भएपनि विद्यालयले मनोमानी तरिकाले पैसा लिएको कुनै पनि गुनासो नआएको बताए ।

 

प्रमुख बस्नेतले नीतिगत रूपमा कुनैपनि विद्यालयले यसरी पैसा उठाउन नपाइने बताउँदै यदि त्यस्तो गरेको लिखित रूपमा जानकारी आए कारबाही गर्न आफू तयार रहेको प्रष्ट पारे ।

प्रकाशित मिति : २०८० वैशाख २६ गते मंगलबार