
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद ४.० आयोजना सम्पन्न भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बुधबार वीरेन्द्रनगरमा रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो । संवादमा ४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
आइसिटी फाउन्डेसन नेपालका हरिराम रिमालले कर्णाली प्रदेशको डिजिटल क्यापाबिलिटीज बारे आफ्नो प्रस्तुती दिएका थिए । यस्तै प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई–गभर्नेन्स विज्ञ दिपेन्द्र पौडेलले बागमती प्रदेशको डिजिटल गभर्नेन्स, फोनपेका भरत पौडेलले डिजिटल अर्थतन्त्र र रारा ल्याब्सका प्रदिप ढकालले कर्णाली प्रदेशको डिजिटल क्यापाबिलिटज ल्यान्डस्केप बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जीसीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिको रूपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको उपस्थिति थियो ।
डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको छ । संवादमा कर्णाली प्रदेशको डिजिटल क्षमताका विषयमा प्यानल सेसन समेत भएको थियो ।
सेसनमा वक्ताको रूपमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, सुर्खेत बहुमुखी कलेजका प्रमुख माधव खनाल र दि एशिया फाउन्डेसन नेपालका अनुप नेपाली रहेका लयागत अन्य व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
प्यानलको सहजीकरण आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले गरेको उपप्रमुख खनाल जानकारी दिए । यसअघि कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ ।
कर्णाली प्रदेशपछि लुम्बिनी र गण्डकी प्रदेशमा डिजिटल संवाद आयोजना हुँदैछ । सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।