२०८३ वैशाख ७ , सोमबार

बालकृष्ण खाणलाई डीएसपीकै कार्यकक्षमा सुताइयो



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो ।

 

बुधवार बिहान पक्राउ परेका खाणलाई अपराह्नसम्म काठमाडौं प्रहरी परिसरका डीएसपीको कार्यकक्षमा राखेर म्याद थप्न लगिएको थियो ।त्यसपछि प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाण कतै जान तयार भएनन् ।

 

प्रहरीले पनि जोडबल नगरेको स्रोतले बतायो । ‘उहाँले यतै बस्ने इच्छा व्यक्त गर्नु भयो, हामीले सबै कुरा विचार गरेर यतै सुत्ने व्यवस्था मिलाएका हौं,’ परिसर स्रोतले भन्यो । खाणलाई प्रहरीले अहिलेसम्म हतकडी लगाएको छैन ।

 

स्रोतका अनुसार बुधवार साँझ खाणका आफन्त उनको कपडा लिएर परिसर आएका थिए । उनकी श्रीमती मञ्जु भने हालसम्म नआएको बुझिएको छ । यो प्रकरणमा मञ्जुको नाम पनि जोडिएको छ । श्रीमान् पक्राउ परेपछि उनी मोबाइल स्विच अफ गरेर बसिरहेकी छन् ।

 

खाणलाई घरबाट खाना पनि ल्याइएन । उनले परिसरकै खाना खाएका थिए । तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसँग सामाजिक सञ्जालमा भएको कुराकानी फेला परेपछि प्रहरीले खाणलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८० वैशाख २८ गते बिहीबार