२०८३ वैशाख ७ , सोमबार

क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक वन अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा



सुर्खेत । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आयोगले बिहीबार सहायक जिल्ला वन अधिकृत मिश्रविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

मिश्र सेवामा प्रवेश गरेको मिति २०३६ फागुन १० देखि २०७० मंसिर १६ गतेसम्म १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ आर्जन गरेको र त्यसमध्ये ७२ करोड ५२ लाख ४८० रुपैयाँको स्रोत नखुलेको अख्तियारले दाबी गरेको छ ।

 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार मिश्रको वैध आम्दानी ९६ लाख ६८ हजार ५७ रुपैयाँ मात्र हुनेमा उनको खर्च तथा लगानी १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ देखिएको छ ।

 

मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा ७२ लाख ५२ हजार ४ सय ८० रुपैयाँ ५९ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

 

यस्तै मिश्रले सरकारी सेवामा रहँदा श्रीमती हिरादेवीको नाममा जग्गा किनेको र घर बनाएको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले हिरादेवीको नाममा रहेको घर जग्गा पनि जफत गर्न माग गरेको प्रवक्ता दाहालले बताए ।

यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति

प्रकाशित मिति : २०८० वैशाख २८ गते बिहीबार