डोल्पा । हिमाली जिल्ला डोल्पादेखि नेपालगञ्जसम्म सिधा बस सेवा सञ्चालन शुरू गरिएको छ । शुक्रबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बुढाले डोल्पादेखि नेपालगञ्जसम्म सञ्चालन हुने बस सेवाको उद्घाटन गरेका हुन् ।
डोल्पा-नेपालगञ्ज बस सेवा सञ्चालन भएसँगै डोल्पावासीको लामो समयदेखिको मनोकांक्षा पूरा भएको छ । बस सेवा शुरु भएसँगै डोल्पामा भेरि राप्ती सार्वजनिक यातायात प्रा.लि. र नमस्ते सगरमाथा यातायात प्रा.लि.ले संयुक्त टिकट बुकिङ काउन्टर समेत खोलेका छन् ।
यो दुई वटा यातायात प्रा।लि।ले अब डोल्पादेखि नेपालगञ्जसम्मका लागि दैनिक एउटा बस छुटाउने छन् । डोल्पादेखि नेपालगञ्जसम्म रात्रि सेवा विस्तारका लागि भने बृहत छलफल गरेपछि टुंग्याइने ठुली भेरि नगरपालीका ३ का वडा अध्यक्ष भक्तबहादुर भण्डारीले जानकारी दिए ।
डोल्पालीको सहजताका लागि सदरमुकाम दुनैमा मुख्य टिकट काउन्टर र त्रिपुराकोट बगर बजारमा शाखा टिकट काउन्टर खोलिने भएको छ । बस सेवा सञ्चालनमा आएसँगै चर्को मूल्य तिरेर जिप चढ्न बाध्य भएका डोल्पावासीले अब भने काम मूल्यमा नै यात्रा गर्न पाउने भएका छन् । भाडादरका लागि भने यही जेठ १ गते छलफल हुने बताइएको छ ।