२०८३ वैशाख ७ , सोमबार

स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने छु : मन्त्री सिंह



सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले कर्णालीका जनताले सर्वसुलभ स्वास्थ्य सेवा नपाएकाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हिमोफिलिया सोसाइटी नेपालले गरेको सरकारी निकायका प्रतिनिधि एवं स्वास्थ्यकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउन आफुले सक्दो पहल गर्ने बताएका छन् । मन्त्री सिंहले प्रदेश सरकारले कर्णाली प्रदेशका नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिने बताउँदै हिमोफिलियाका बारेमा आफूले हालै मात्र विस्तृत अध्ययन गर्ने मौका पाएको र हिमोफिलियाका बिरामीले उपचारमा पाइरहेको सास्ती, उपचार अभाव लगायतका विषयमा आफू चिन्तित रहेको बताएका छन् ।

 

मन्त्री सिंहले हिमोफिलियाका बिरामीको उपचारमा सहज हुनेगरी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सक्दो व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनले हिमोफिलियाका बिरामी कर्णाली प्रदेशमा पनि रहेको, उहाँहरूले उपचार सेवा प्रभावकारी रूपमा नपाएको र कतिपय बिरामी उपचारका लागि सम्पर्कमा नपुगेको सुन्दा दुःख लागेको बताए ।

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार