२०८३ वैशाख ७ , सोमबार

पातारासीका तीन वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा



जुम्ला । जुम्लाको पातारासीका तीन वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । पातारासी गाउँपालिकाभित्रका ७ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । पालिकाभित्रका १, २ र ३ नम्बर वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जाएको छ ।

 

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएपनि शून्यदेखि २३ महिनाभित्रका बालबालिकाले पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चित परीक्षण गर्नुपर्ने व्यवस्था रहेको पातारासी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रतन बुढ्थापाले जानकारी दिए ।

खोपबाट विभिन्न किसिमका रोगबाट बचिने भएकाले हरेक बालबालिकालाई नछुटाई खोप लगाउनुपर्ने हुन्छ । खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ । कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुन नहुने मान्यताका साथ छुमचौरी स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनाभित्रका ४६ जना बालबालिकालाई पूर्ण खोप लगाइएको छ ।

 

यस्तै १६ देखि २३ महिनाभित्रका ८६ जना बालबालिकालाई पूर्ण खोप लगाइएको छ । पातरासीमा शून्यदेखि १५ महिनासम्मका ३६ जना र १६ देखि २३ महिनासम्मका २९ जना बालबालिकालाई पूर्ण खोप लगाइएको छ । तल्फीमा शून्यदेखि १५ महिना उमेर समूहका ९६ जना र १५ देखि २३ महिना उमेर समूहका ३४ जना बालबालिकालाई पूर्ण खोप लगाइएको स्वास्थ्य शाखा संयोजक बुढ्थापाले बताए ।

 

अहिले बालबालिकाको खोप छुटाउनु हुन्न भन्ने नीति भएकाले वडाभित्र रहेका सबै बालबालिकाले अनिवार्य खोप लगाउने गरेको उनले बताए । पालिकभित्रका सबै वडाका बालबालिकाले पूर्ण खोप लगाएको पइएमा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार