
जाजरकोट । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको कुदुको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । वर्षैदेखि अलपत्र परेको मोटरेवल पुलको ठेक्का रद्द भएसँगै सो क्षेत्रमा वैकल्पिक पुल निर्माण गर्न लागिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले बताए ।
पुष्पलाल ९मध्यपहाडी० लोकमार्गअन्तर्गतको रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको बीचमा रहेको भेरी नदीमा बेलिब्रिज पुल बनाउन सर्वे डिजाइनका कामहरु शुरु भएको छ । भेरी नगरपालिकाको–११ र १३ मा गरी तीन ठाउँमा सर्भेको काम भएको उनको भनाइ छ ।
नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताए । पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि काम गर्न अटेर गरेपछि गत मङसिर २९ मा विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्द गरिएको निर्देशनालयका डिभिजन प्रमुख इञ्जिनियर युवराज पोखरेलले बताए ।
सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौँविरुद्ध समयमै काम नगरेको भन्दै रु ८ करोड ५७ लाख ९५ हजार ६२६ जरिवाना समेत गरेको छ । सरकारको उक्त निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको छ । पुष्पलाल ९मध्यपहाडी० लोकमार्गमा निर्माण कार्य शुरु भएको पक्की पुल लामो समयसम्म निर्माण हुन नसकी ठेक्का तोडिएको थियो ।
तोडिएको ठेक्का अनुसार वाइपीले हालसम्म लोकमार्गलाई रकम फिर्ता नगरेको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । यता, निर्माण व्यवसायी वाइपीले आफूले पुल निर्माण गर्दागर्दै कार्यालयबाट ठेक्का तोडिएको आरोप लगाएको छ। वाईपीले लोकमार्गको नाममा मुद्दा हालेपछि काम लम्बिएको बताए ।
लामो समयसम्म पुल निर्माणको काम नहुँदा सर्वसाधारणहरुले समस्या झेल्दै आएका छन् । मुद्दा प्रक्रियामा निर्माण व्यवसायी गएपछि पक्की पुल निर्माण हुन समय लाग्ने भएकोले बेलिब्रिज पुल बनाएर काम चालु गर्न लागिएको पूर्व अर्थमन्त्री शर्माले बताए । शर्मा आफैँ फिल्डमा खटेर बेलिब्रिज पुल बनाउनका लागि सर्वे गराएका छन् ।
यो पुल समयमा सम्पन्न नहुँदा जाजरकोट र रुकुम पश्चिम सिँधा यातायात सेवा जोडिन सकेको छैन । सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम असूल उपर गर्ने व्यवस्था छ ।
कम्पनीले २०६९ सालमा तीन वर्षमा काम सम्पन्न गर्नेगरी १८ करोड स्टीमेटको ठेक्का वाईपी कन्ट्रक्सनका प्रोपराइटर राजु श्रेष्ठले १४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए । बेलिब्रिज पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।