२०८३ वैशाख ७ , सोमबार

धुलाम्मे सडकले कर्णाली प्रदेशको राजधानीमा दिउँसै अँध्यारो



सुर्खेत । कर्णाली प्रदेशको राजधानी हो, वीरेन्द्रनगर । वीरेन्द्रनगरलाई एक नमुना सहर बनाउने भन्ने भाषण धेरै सुनिँदै आएका छन् । राजधानीमा केही परिवर्तन भए पनि सडकमा भएका खाल्टाखुल्टीदेखि सडक धुलाम्मेका समस्याहरू झन् बल्झिँदै गएका छन् । जसको एउटा उदाहरण हो, वीरेन्द्रनगर १० दैलेख रोड चोकदेखि कालिञ्चोक जोड्ने सडक ।

 

यो सडक निर्माणको लागि २०७८ कार्तिक ११ गते सम्झौता भयो । ठेक्का सम्झौताअनुसार १० असार २०७९ सम्ममा सो सडक विस्तारको काम सकाउनुपर्ने थियो । तर, काम सम्पन्न नभएपछि म्याद थप गरिएको थियो । थप म्यादमा पनि ३० असार २०८० सम्ममा सकाउनुपर्ने सम्झौतामा उल्लेख छ । तर, म्याद सकिँदा दुई महिना बाँकी रहँदा पनि अझै कामले गति लिन सकेको छैन ।

 

सडक डिभिजन कार्यालय सुर्खेतको करिब ५ करोड लागतमा नान्जिला आकाङ्क्षा एन्ड मजदुर जेबी सुर्खेतले जिम्मा लिएको छ । तर, जिम्मा लिएको निर्माण व्यवसायीको अटेरीले सडक निर्माणमा काम ढिलाइ भएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । पटक पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीको अटेरीले उक्त सडक निर्माण वर्षौँ बितिसक्दा पनि जस्ताको त्यस्तै छ ।

 

निर्माण व्यवसायीले आधा काम गरेर छोडेपछि हाल यो सडक धुलाम्मे बनेको छ । यहाँ कुनै दिन बढी सवारी साधन गुड्दा त दिउँसै अँध्यारो समेत हुने गरेको छ । ‘कुनै टिप्परहरु यो बाटोमा स्पिडमा आउँछन् त्यति बेला यहाँ अँध्यारो नै हुन्छ ।’ एक जना स्थानीयले भनिन् । ‘बिहान लगाएको कपडा बेलुका फर्कँदा हेर्न नहुने भइसकेको हुन्छ । धूलो र धूवाँको मुस्लोले सडकमा हिँड्न नै नसकिने अवस्था रहेको छ ।

 

यसमा कसैको ध्यान जान सकेको छैन ।’ यो बाटो हुँदै नगरपालिकाका जनप्रतिनिधिदेखि मन्त्रीसम्म दैनिकी हिँडिरहन्छन् । तर, यो सडक निर्माणमा कसैको पनि ध्यान नगएको स्थानीयवासीको भनाई छ । निर्माण व्यवसायी र जिम्मेवार निकायको चरम लापरबाहीले आफूहरू सास्ती खेप्न बाध्य भएको श्रवण कुमार विकले बताए ।

 

जिम्मेवार सरकारी निकायले चासो नदेखाएकै कारण अहिलेसम्म सडक पिच हुन नसकेको उनले सुनाए । ‘हामी दैनिकी यही बाटो हिँड्छौँ । सडक पिचको जिम्मेवार निकायले चासो देखाएका छैनन्,’ उनले भने, ‘पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे । अहिले धुलोले मास्क लगाएर हिँड्नु परेको छ । हाम्रो स्वास्थ्यको मर्मलाई बुझेर तत्काल सडक पिच गरिनुपर्छ ।’

 

यो सडक मात्र नभई वीरेन्द्रनगरका अधिकांश निर्माण सडकहरू धुलाम्मे छन् । जसमा मंगलगढि देखि वीरेन्द्र चोक जाने सडक, काँक्रेविहार जाने सडक, गणेश चोकदेखि घण्टाघर जाने सडकहरू धुलाम्मे रहेका छन् । धुलाम्मे सडकले गर्दा यहाँका बासिन्दाहरूको जीवन प्रभावित भएको छ । पैदल यात्री, सवारी प्रयोगकर्ता, सडकमा निस्कने सबैलाई यहाँको धूवाँ र धूलोले अहिले स्वागत गरिरहेको छन् ।

 

केही समयअघि धुलोले गर्दा काँक्रेविहार जाने सडक, गणेश चोक, मंगलगढिदेखि वीरेन्द्र चोक जाने सडक स्थानीयहरूले बन्द गरेका थिए । सडक बन्द गर्दा पनि केही प्रतिफल नमिलेपछि बन्द सडक पनि स्थानीयहरूले खुलाइसकेका छन् । सडक निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण भनेको निर्माण व्यवसायीको अटेरी रहेको छ ।

 

निर्माण व्यवसायीको अटेरीले सडक निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय इन्जिनियर रामकृष्ण थारु बताउँछन् । उनले बारम्बार सडक निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दा पनि व्यवसायीले गर्छु भन्दै टारेको गुनासो गरे । इन्जिनियर थारु निर्माण व्यवसायी विनीत पन्त काम छोडेर काठमाडौँ गएको र आफूले धेरै पटक चिठी लेखेर पठाउँदा पनि वास्ता नगरेको हुँदा सडक निर्माणमा ढिलाइ भएको स्वीकार गर्छन् ।

 

‘मैले धेरै पटक फोन गरे, कति पटक पत्राचार गरे, तर पनि उहाँले वास्ता गर्नुभएको छैन ।’ उनले भने ‘कि उहाँले काम गर्दिन भन्नु पर्थ्यो । हामी ठेक्का तोडेर केही विकल्प सोच्ने थियौ, काम गर्छु भन्नुहुन्छ तर पनि समयमै काम गर्नहुन्न ।’ सडक निर्माण गर्नुपर्ने करिब ६५० मिटर मात्रै छ । तर, पनि सडक निर्माण गर्न डिभिजन कार्यालयलाई हम्मे हम्मे भएको छ ।

 

हालसम्म यो सडकको काम ४३ प्रतिशत सम्पन्न भएको छ । अबको दुई महिनामा करिब ५७ प्रतिशत काम सम्पन्न गर्नुपर्ने छ । निर्माण व्यवसायीले हालसम्म १ करोड ६३ लाख ८९ हजार रुपैयाँ पेस्की लिइसकेका छन् । सोही सडकमा डिभिजन कार्यालय सुर्खेतले काम गर्ने दुई दर्जन कर्मचारी राखेको छ भने बाटो स्तरोन्नतिको नाममा वर्षे नि करौडौं रकम खर्च भएको बताउँदै आएको छ ।

No description available.No description available.No description available.

प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार