
सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सुर्खेतले शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतलाई ज्ञापन पत्र बुझाएको छ । मंगलवार अनेरास्ववियुले वीरेन्द्रनगर नगरपालिका १० मा रहेको क श्रेणीको बोर्डिङ स्कुल इगरब्रीज माध्यमिक विद्यालयले वैशाख ३१ गते कक्षा १२ को परीक्षामा प्रश्न पत्र बाढ्नु अगावै प्रश्न पत्र “लिक” भएको भन्ने विषयमा सत्य तथ्य छानबिनको लागि शिक्षा विकासको कार्यालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो ।
वैशाख ३१ गते विज्ञान सङ्काय अन्तरगत फिजिक्स विषयको परीक्षा सञ्चालन हुन अगाडि नै विद्यालयको मिलेमतोमा आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रश्न पत्र र तीनको उत्तर सहित फेसबुकको गुप्र मार्फत पठाउने कार्य गरेको र उक्त कार्य गरे बापत विद्यार्थीबाट पैसा असुल्ने गरेको पाइएकाले यसप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको र साथै यस विषयमा सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न अनेरास्ववियुले आग्रह गरेको छ ।
‘विद्यालयले यस्तो घृणित काम गरेकाले प्रमाणसहित सम्बन्धन खारेज गर्न शिक्षा विकासलाई आग्रह गर्दछौ । यदि शिक्षा विकासले विद्यालयलाई कारबाही नगरेमा अनेरास्ववियुले नै विद्यालयलाई कारबाही गर्न बाध्य हुने छौ, ‘अनेरास्ववियुका अध्यक्ष आशिष आचार्यले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ ।
यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी जिल्ला कमिटी सुर्खेतले पनि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्ति भनिएको छ,‘प्रश्न पत्र बाहिरिएको विषयमा सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दछौँ । यदि कारबाही नगरेमा अखिल क्रान्तिकारी नै कारबाही गर्न बाध्य हुनेछ ।’
आइतबार कक्षा १२ को परीक्षामा इगरब्रिजका एक शिक्षकले विद्यार्थीले परीक्षा हलमा प्रश्न पत्र पाउनु भन्दा आधा घण्टा अगाडि नै इगरब्रिजका नवराज शर्माले विद्यार्थीको म्यासेन्जरमा प्रश्न र उत्तरसमेत पठाएको विद्यार्थीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रअ एवम् केन्द्राध्यक्ष गणेश कुमार न्यौपानेलाई बताएका थिए ।
फिजिक्स विषयको प्रश्नको उत्तर विद्यार्थीले प्रश्न पत्र पाउनुभन्दा करिब आधा घण्टा अगाडि नै विद्यार्थीको म्यासेन्जरमा पठाएको विद्यार्थीले आफूलाई बताएको न्यौपानेले बताएका छन् । यता, इगरब्रिजले भने आफ्नो विद्यालयमा नवराज शर्मा नाम गरेको शिक्षक नै नभएको भन्दै गैर जिम्मेवार उत्तर दिएको छ।
उक्त विद्यालयमा नवराजले पढाउने गरेको समाचार आएपछि उनको नाम लुकाइएको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरू नै बताउँछन्। उक्त विद्यालयकी लेखा शाखामा काम गर्ने आरजु गौतमले आफ्नो विद्यालयमा उक्त नाम गरेको शिक्षक नै नभएको जानकारी दिइन ।