
सुर्खेत। पशु पालन र कुखुरा पालन व्यवसाय सुरु गरेका सुर्खेतका २४ जना युवाहरुलाई उद्यम प्रवर्द्धन तालिम दिइएको छ । समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरेको पावर परियोजनाको सहयोगमा व्यवसाय सुरु गरेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका युवाहरुलाई व्यवसाय प्रवर्द्धनका लागि तालिम दिइएको हो ।
वीरेन्द्रनगरमा मंगलबार र बुधबार सञ्चालन भएको तालिममा पशु विकास निर्देशनालय सुर्खेतका पशु चिकित्सकहरुले सहजीकरण गरेका छन् । सहभागीहरुलाई बाख्रा पालन, बंगुर पालन र कुखुरा पालन सम्बन्धी तालिम दिइएको थियो । सेभ द चिल्ड्रनको सहयोगमा सञ्चालित उक्त परियोजनाले सुरुमा बीचैमा पढाई छोडेका १८ देखि २४ बर्ष समूहका ८० जना युवाहरुलाई जीवन उपयोगी शिक्षासम्बन्धी तालिम दिएको थियो । त्यस मध्य ४० जनाले व्यवसाय र बाँकी ४० जनाले सीपमूलक तालिम लिने रोजेका थिए ।
व्यवसाय गर्न चाहाने ४० जना युवाहरुलाई उद्यम विकास तालिम दिइएको परियोजनाका संयोजक तेज सोनामले जानकारी दिए । सोनामका अनुसार उनीहरुलाई व्यवसाय सुरु गर्नका परियोजनाले २८ हजारका दरले सहयोग गरिएको छ । १६ जनाले खुद्रा पसल लगायतका व्यवसाय गरिरहेका छन भने २४ जनाले पशु तथा कुखुरा पालन रोजेका थिए ।
पशु पालन रोजेका युवाहरुलाई उनीहरुको व्यवसाय प्रबद्र्धन गर्नका लागि सामान्य प्राविधिक तालिम दिइएको परियोजना संयोजक सोनामले बताए । तलिममा सहभागी कविता रामजालीले तालिमबाट व्यवसाय गर्दा आवश्यक पर्ने आधारभूत कुराहरु जानकारी पाएको बताए ।
बुधबार तालिमको समापन कार्यक्रममा बोल्दै समाज स्याक नेपालका अध्यक्ष मिना तिवारीले युवाहरुले सुरु गरेको व्यवसाय प्रबद्र्धनका लागि परियोजना बाहेक पनि स्थानीय सरकार तथा सम्बन्धित निकायहरुसंग समन्वय गर्ने बताए । संस्थाका कार्यकारी निर्देशक टिकाराम आचार्यले टिकाराम आचार्य आर्थिक उन्नतिगरी बालबालिकाको शिक्षा पोषण लगायतमा सघाउ पुर्याउने उद्देश्य रहेको बताए ।
सेभ द चिल्ड्रेनका मोतिलाल ढकालले व्यवसाय सुरूवात गरेपछि त्यसबाट लाभ लिनका लागि जान्नु पर्ने आधारभूत कुराहरू तालिममा सिकाइएको बताउँदै तालिमले व्यवसायमा फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।


