
ट्राफिक प्रहरी कार्यालय सुर्खेतको परिसरमा राखिएका मोटरसाइकलहरु
कुलेन्द्र शाही, सुर्खेत । एक दुई दिन अघि वीरेन्द्रनगरको सरकारी कार्यालयतर्फ जाँदै थिए। ट्राफिक प्रहरी कार्यालयको अगाडि पुग्दा एक जना व्यक्तिले भन्दै थिए, यति धेरै बाइकहरू किन राखिएका होलान् रु उनीसँगको एक व्यक्तिले भने, ”वीरेन्द्रनगर बजारमा पार्किङको समस्याले होला यता पार्किङ गरेको !”
उनीहरूको सवाल जवाफले मलाई पनि यसबारेमा थप बुझ्ने इच्छा भयो। कार्यालयको परिसरमा राखिएका मोटरसाइकलहरु कुनै नयाँ छन् भने कुनै धेरै पुराना १ कार्यालय भवनको अगाडि पार्किङमा नयाँ–पुराना गरी दुई सय भन्दा बढी मोटरसाइकल छन् । त्यहाँ भएका मोटरसाइकल मध्ये एक सय भन्दा बढी मोटरसाइकल काम नलाग्ने अवस्थामा पुगेको कार्यालयमा सम्पर्क गरेपछि पत्ता लाग्यो।
विभिन्न अभियोगमा कब्जा गरेर राखिएका साधनहरू दिनप्रतिदिन कवाड बन्दै गएका छन् । प्रहरी कार्यालयमा सकुशल पुगेका मोटरसाइकलहरू समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने स्थितिमा पुगेका रहेछन्। करिब ५ करोड मूल्यभन्दा बढीका मोटरसाइकलहरू बुझ्न सम्बन्धित व्यक्ति नआएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
ट्राफिकले सामान्य कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनसमेत फिर्ता लैजान व्यक्तिहरू नआएका कार्यालयको दाबी छ। यहाँ मोटरसाइकल मात्रै होइन तीन पाङग्रे अटो पनि प्रहरी कार्यालयमै थन्किएका छन् । विगतदेखि नै प्रहरी कार्यालयमा आएका अवैध सवारी साधनको लिलाम प्रक्रिया नै अगाडि बढाउन नसकेको कार्यालयले जनायो।
लिलाम प्रक्रिया झन्झटिलो भएको र लिलामा गरे वापत कार्यालयलाई कुनै पनि शुल्क नमिल्ने भएको हुँदा प्रहरी कार्यालयले यसमा चासो दिन नसकेको हो । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा सरुवा भई आएका प्रहरी निरीक्षक देबेन्द्रसिँह बुढाथोकीले लिलाम प्रक्रियालाई अगाडि बढाएका छन् । गत चैत्रमा आएका बुढाथोकीले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई लिलामको लागि पत्राचार गरेका छन् ।
उनका अनुसार प्रशासनले सूचना सार्वजनिक गरी सम्बन्धित व्यक्तिलाई उक्त मोटरसाइकल लिन जानकारी दिने र लिन नआएमा उक्त मोटरसाइकलहरू लिलाम गरिने छ । प्रहरी निरीक्षक बुढाथोकीले भने,‘सबैभन्दा असजिलो र झन्झटिलो काम भनेको सवारी साधन लिलाम गर्नु हो, त्यसैले पनि यो काम अहिलेसम्म कसैले गरेका रहेछन् । मैले भर्खर प्रक्रिया अगाडि बढाएको छु ।’
उनले प्रशासनले सुचना प्रकासन गरिसकेपछि यातायातका कर्मचारीलाई बोलाएर राम्रोसँग हेरेर मूल्याङ्कन गर्न लगाउने उनले बताए । निरीक्षक बुढाथोकीले महँगो मूल्य भएका मोटरसाइकल पनि लिन नआएको बताए । उनले कार्यालयमा भएका अधिकांश मोटरसाइकल चोरीको भएको बताए । कारबाहीबाट बच्नको लागि नियन्त्रणमा लिएका मोटरसाइकलहरू पनि लिन नआएको उनको भनाई छ ।
अहिले नियन्त्रणमा लिएको नभई करिब ५र६ वर्षका पुरानो मोटरसाइकलहरू पनि प्रहरी कार्यालयमै देख्न सकिन्छ । निरीक्षक बुढाले कार्यालयमा भएका अधिकांश मोटरसाइकल चोरीको भएको बताए। उनले चोरीका मोटरसाइकलहरू निकालेर गाउँघरमा लगेर सस्तोमा बेच्ने गरिएको जानकारी दिए।
गाउँभरमा लगेपछि उनीहरूले नम्बर प्लेट परिवर्तन गरी चलाएका हुन्छन् भने कतिले नम्बर प्लेट समेत नराखेको प्रहरीको भनाई छ । पछिल्लो समय सुर्खेतमा मोटरसाइकल हराउनेको सङ्ख्या पनि उत्तिकै पाइएको छ । कतिपयले मोटरसाइकलको ‘हयान्डिल लक’ गर्न भुल्ने गरेको र कतिपय मोटरसाइकलको ’ हयान्डिल लक बलियो नभएको हुँदा मोटरसाइकल हराउनेको सङ्ख्या बढ्दै गएको हो ।
प्रहरी कार्यालयमा थन्किएका हजारौँ मोटरसाइकलहरू प्रहरीले चलाउन पाउँदैन, न त बेच्न नै । मोटरसाइकल धनी आफ्नो साधन खोज्दै नआउने र प्रहरीले पनि मोटरसाइकल बेच्न नपाउने हुँदा कार्यालय परिसरमा मोटरसाइकलको सङ्ख्या बढ्दै गएको हो ।


