
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सचेतनामुलक तथा सरसफाई कार्यक्रम गरेको छ । गणत्रन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णाली विभिन्न जिल्लाहरुका विभिन्न स्थानहरुमा सचेतना र सरसफाइ कार्यक्रम गरेको हो ।
जाजरकोट र जुम्ला जिल्लाका विभिन्न स्थानहरुमा लागु औषध, बाल विवाह, बहु विवाह, आत्महत्या, आगलागि नियन्त्रण र सरसफाई सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका १ स्थित नारायणचौर माध्यामिक विद्यालयमा लागुऔषध नियन्त्रण, वडा नम्बर ३ स्थित डाँडाकोटमा आगलागि नियन्त्रण, शिवालय गाउँपालिका वडा नम्बर ५ स्थित थालारैकरमा बालयौन दुव्र्यवहार, शिवालय गाउँपालिका ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय जुङ्गाथापाचौरमा बाल विवाह तथा बहु विवाह नियन्त्रण र कुशे गाउँपालिका ५ स्थित दमदलामा आत्महत्या न्युनिकरण, सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको हो ।
साथै आइतवार जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्लाको सयुंक्त आयोजनामा चन्दननाथ नगरपालिका स्थित खलङ्गा बजारमा सरसफाई कार्यक्रम समेत गरिएको छ ।
बढ्दो जनसंख्यासंगै बजार क्षेत्रमा जथाभावि रुपमा फालिएको फोहोरले स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले बजार क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।
