२०८३ वैशाख ७ , सोमबार

केन्द्रको बजेट कर्णालीलाई चित्त बुझ्ने खालको आएन : मुख्यमन्त्री शर्मा



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले केन्द्रको बजेट कर्णाली प्रदेशलाई चित्त बुझ्ने खालको नआएको बताएका छन् । मुख्यमन्त्री शर्माले कर्णालीलाई नै उपेक्षा गरेको बताएका छन् । उनले बजेट सुन्दा अलि–अलि कर्णालीको नाम आएपनि राम्रो सम्बोधन भने नभएको बताए । मुख्यमन्त्री शर्माले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउदा पनी कर्णालीलाई सरकारले उपेक्षा गरेको उल्लेख गरेका छन् ।

 

सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा सोमवार अर्थमन्त्री डा.प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २० प्रतिशत र पुँजीगत अर्थात् विकास बजेटतर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् ७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

 

संघिय सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कर्णालीका विभिन्न क्षेत्रहरू समेटिएका छन् । अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेट भाषणमा कर्णाली प्रदेशमा भने कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेटमा कर्णाली प्रदेशको अर्गानिक रैथाने बालीको उत्पादन तथा खरिद गरिने भएको छ । कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने अन्नबाली चिनो, कागुनो, कोदो, जौ, फापर र मार्सी धान लगायतको रैथाने बालीलाई उत्पादन गरी खरिदका लागि पहल गर्ने भएको छ ।

 

यस्तै, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खाद्यवस्तुहरूको परीक्षणका लागि विषादी प्रयोगशालाको स्थापना गरिने, कृषि उत्पादनमा सहयोग पुर्‍याउनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका विभिन्न नदीहरूबाट पानी लिफ्टिङबाट सिँचाइ आयोजना, एकीकृत कर्णाली सिँचाइ विकास आयोजना र रैथाने बालीको विकास गरिने, जसका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

 

कर्णाली समृद्धि कार्यक्रम, ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ भन्ने नाराका साथ भेरी–बबई डाइभर्सनमा पावर हाउस लगायतका कामको सम्पन्न गरी बर्दिया र बाँके जिल्लाका २१ हजार हेक्टर जमिनमा वर्ष भरी नै सिँचाई पुग्ने पानीको व्यवस्था जसका लागि १ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ । यस्तै, सबै भन्दा बढी कर्णाली प्रदेशका पूर्वाधार विकासमा बजेटमा जोड दिइएको छ ।

 

रुकुम पश्चिमको चौरजहारी र जुम्लाको खलङ्गामा रहेको विमानस्थलको स्तरोन्नति गरिने, सुर्खेतको पञ्चपुरी नगरपालिका र दैलेखको महावु गाउँपालिका लागि खानेपानीको आयोजना, सुर्खेत उपत्यकाको लागि भेरी पम्पिङ आयोजना, मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट जिल्लामा पर्ने सडकका लागि आवश्यक बजेट विनियोजन, मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतमा पर्ने सडक खण्डको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

 

हालसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला जिल्लालाई ट्रयाक खोल्ने काम गरेर जिल्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने, कर्णाली कोरिडोर अन्तर्गतको कालिकोटको खुलालदेखि हुम्लाको सल्लिसल्लासम्मको सडक निर्माणका लागि लागि ९७ करोड बजेट विनियोजन, गत असोज महिनामा करिब एक हप्तासम्म परेको पानीपछि आएको बाढी पहिरोबाट भत्किएको कर्णाली राजमार्गको स्तरोन्नति र भेरी कोरिडोर अन्तर्गतको जाजरकोट–दुनै डोल्पा सडक खण्डका लागि ५० करोड बजेट विनियोजन गरिएको छ ।

 

यस्तै, कोहलपुर–सुर्खेतको सडक स्तरोन्नति गर्नका लागि आवश्यक बजेट विनियोजन, सुर्खेतको भेरीगंगगामा नगरपालिकाको भेरी किनारामा एकीकृत बस्ती विकास गरिने, कर्णाली नदीमा जलाधार कार्यक्रमका लागि बजेट विनियोजन साथै दैलेखमा उत्खननको क्रममा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई निरन्तरता दिने जस्ता कुरा बजेटमा समावेश भएका छन् ।

 

कर्णालीको प्रदेशको राजधानी सुर्खेतमा मेडिकल कलेज सञ्चालन, सुर्खेतमा निर्माणाधीन सरुवा रोग अस्पताललाई सम्पन्न गरी आगामी वर्षबाट सञ्चालनमा ल्याउने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा सञ्चालित दैलेखको आठबीस नगरपालिका राकममा १०० शय्याको स्टालाइट अस्पतालको निर्माणको काम अगाडी बढाइने योजना बजेटमा उल्लेख गरिएको छ ।

 

यस्तै, कर्णाली नदीमा जोखिम नियन्त्रण गर्न आवश्यक बजेट, आगामी दुई वर्ष भित्र सबै जिल्लामा विद्युत् पुर्‍याउने उद्देश्यका साथ १०६ मेगावाट जगदुल्ला विद्युत् आयोजनालाई निरन्तरता दिने, ४०० केभी भेरी कोरिडोर र कर्णाली कोरिडोर विद्युत् प्रसारण लाइनको कामलाई अगाडी बढाइने र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गामा रहेको मौसमी राडारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने सरकारले बजेटमा घोषणा गरेको छ ।

 

यस्तै, कर्णाली प्रदेश प्रदेशमा जडीबुटीमा गुणस्तरीय पकेट क्षेत्र बनाउने, डोल्पाका ऐतिहासिक तथा स्थानीय संस्कृतिलाई पर्यटनमा जोड्नका लागि ‘नेपाल घुमौँ नेपाल चिनौँ’ नाराका साथ डोल्पा जिल्लामा पर्यटकीय पदमार्ग निर्माण गरिने, सल्यानको छत्रेश्वरी, दैलेखको पञ्चकोसी र जुम्लाको चन्दननाथ मन्दिरलाई धार्मिक स्थलको रूपमा स्तरोन्नति गर्ने जस्ता योजना बजेटमा समावेश गरिएको छ ।

 

सुर्खेतको थोक बजार स्तरमा विषादी द्रुत परीक्षण प्रयोगशाला स्थापना गरिने, कर्णालीमा जडीबुटी प्रशोधन उद्योग सञ्चालन गर्ने गरी योजना अगाडी बढाइने, हिमाली जिल्लाहरूमा खाद्यान्न ढुवानीमा दिइँदै आएको अनुदानलाई प्रदेश स्तरीय आधुनिक खाद्य गोताम घर निर्माण गरिने, सुर्खेतमा आगामी वर्षदेखि सरुवा रोग अस्पताल सञ्चालनमा ल्याउने बजेट वक्तव्यमा भनिएको छ ।

 

साथै बजेटमा कर्णालीमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदको बारेमा बजेट विनियोजन नहुँदा सामाजिक सञ्जालमा विभिन्न आलोचना समेत भएको छ ।

प्रकाशित मिति : २०८० जेठ १६ गते मंगलबार