डोल्पा । हिमाली जिल्ला डोल्पाका चार गाँउ तीन महिनादेखि अन्धकारमा छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ पालङ्गस्थित खातीखोला लघुजलविद्युत केन्द्रको ट्रान्समिटर बिग्रिएपछि वडा नं ५ र ६ का ल्हाँ, फुल्चिङ, खदाङ्ग र पालङ्ग गाउँ तीन महिनादेखि अन्धकार बनेको छ ।
तीन महिनासम्म पनि ट्रान्समिटर मर्मत नभएपछि चार गाउँका चार सर ५२ घरधुरी दुकी तथा दियालोको भरमा बस्न बाध्य भएका छन् । करिब पाँच करोड रुपैयाँ लागतमा २०७४ सालमा निर्माण भएको खातीखोला लघुजलविद्युत केन्द्र गत फागुनदेखि बन्द रहेको छ ।
स्थानीय रमेश बोहोराले स्थानीय जनप्रतिनिधि र विद्युत व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीको लापरबाहीका कारण हालसम्म ट्रान्समिटर मर्मत नहुँदा चार गाउँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएको बताए । विद्युत नहुँदा बालकालिकालाई पढ्न समस्या भएको अर्का स्थानीय भीम चलाउने बताउँछन् ।
साथै विद्युत नभएका कारण मोबाइल चार्ज नहुँदा सञ्चारमा पनि समस्या भएको उनले बताए । यस्तै विद्युत नहुँदा इलाका प्रहरी कार्यालय खदाङ्गको कामकारबाहीमा पनि असर परेको छ । इलाका प्रहरी कार्यालयले विद्युत नभएका कारण मोबाइल तथा सञ्चार सेट चार्ज नहुँदा दिनभरका सुरक्षा गतिविधि जिल्लामा जाहेरी गर्न समस्या भएको बताएको छ ।
जलविद्युत् व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल बोहोराले स्थानीय सरकारले पर्याप्त बजेट नदिँदा ट्रान्समिटर मर्मत कार्य रोकिएको बताए । उनले ट्रान्समिटर मर्मतका लागि बुटवलस्थित नेपाल स्टिल स्ट्रचर प्रा.लि. कम्पनीमा पठाइएको भएपनि आर्थिक अभावका कारण ल्याउन नसकिएको जानकारी दिए ।
वडा नं ६ का अध्यक्ष देवेन्द्र चलाउनेले विद्युुत उपकरण मर्मतका लागि नागरपालिकाबाट चार लाख रुपैयाँ विनियोजन गर्न लगाइएको बताए । तर वडामा बजेट नहुँदा वडाका तर्फबाट चाहेर पनि रकम दिन नसकिएको उनको भनाइ थियो ।