२०८३ वैशाख ८ , मंगलबार

कर्णालीमा ७ दशमलव ५१ प्रतिशतले जनसंख्या वृद्धि



सुर्खेत । कर्णाली प्रदेशमा १० वर्षको अन्तरालमा ७ दशमलव ५१ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कर्णालीमा एक लाख १७ हजार नौ सय ९४ जना अर्थात् सात दशमलव ५१ प्रतिशत जनसंख्या वृद्धि भएको पाइएको हो ।

सबैभन्दा कम जनसंख्या भएको जिल्ला हुम्ला रहेको छ भने बढी सुर्खेत जिल्ला रहेको छ । हुम्लामा ५५ हजार तीन सय ९४ रहेको छ । हुम्लामा जनसंख्या वृद्धिदर ० दशमलव ८२ प्रतिशत छ । 

यस्तै, सुर्खेतमा ४ लाख १५ हजार एक सय २६ जना, मुगुमा ६४ हजार ५ सय ४९ जना, डोल्पामा ४२ हजार ७ सय ७४ जना, जाजरकोटमा एक लाख ८९ हजार तीन सय ६० जना, हुम्लामा ५५ हजार तीन सय ९४ जना, जुम्लामा एक लाख १८ हजार तीन सय ४९ जना, रुकुम पश्चिममा एक लाख ६६ हजार सात सय ४० जना र कालीकोटमा एक लाख ४५ हजार दुई सय ९२ जनसंख्या पुगेको जनगणनाको तथ्यांक छ ।

कर्णालीमा जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) ६० जना रहेको छ । जुन २०६८ मा ५६ थियो । सबैभन्दा धेरै जनघनत्व रहेको जिल्ला सुर्खेतमा एक सय ६९ जना प्रति वर्ग किलोमिटर हुँदा सबैभन्दा कम ५ जना प्रति वर्ग किलोमिटर डोल्पा जिल्लामा रहेको छ । अझैपनि २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कर्णाली प्रदेशस्तरीय नतिजामा प्रदेशमा अझैपनि २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको हो । सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा रहेको कूल जनसङ्ख्या १६ लाख ८८ हजार चार सय १२ मध्ये २४ प्रतिशत अर्थात चार लाख पाँच हजार दुई सय १९ जना अहिले पनि निरक्षर छन् ।

प्रदेशमा साक्षरता दर ७६ दशमलव एक प्रतिशत पुगेको छ । पुरुष साक्षरता दर ८३ दशमलव छ प्रतिशत छ भने, महिला साक्षरता दर ६९ दशमलव चार प्रतिशत छ । जनगणनाको तथ्याङ्कमा विद्यालयमा टिकाउ दर पनि कमजोर देखिएको छ । कूल साक्षरता दरको सबैभन्दा बढी ३० दशमलव नौ प्रतिशत व्यक्तिले कक्षा पाँचसम्म मात्रै पढेका छन् भने २१ दशमलव पाँच प्रतिशतले आठ कक्षासम्म मात्रै पास गरेको देखिएको छ ।

विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेका तथ्याङ्कमा उल्लेख छ । नतिजा सार्वजनिक गर्दै तथ्याङ्क अधिकृत नन्दलाल सापकोटाले कर्णाली प्रदेशमा कूल जनसङ्ख्याको तीन दशमलव एक प्रतिशत अर्थात ५२ हजार तीन सय ४१ जनामा कुनै न कुनै अपाङ्गता रहेको बताए ।

उनले नौ लाख २६ हजार तीन सय ४० जना काम गर्न सक्ने उमेर समूहका व्यक्ति रहेको बताउँदै ७३ दशमलव सात प्रतिशत जनसङ्ख्या कृषि पेसामा, थोक तथा खुद्रा व्यापारमा सात दशमलव नौ प्रतिशत, निर्माण कार्यमा पाँच दशमलव नौ प्रतिशत, शिक्षामा दुई दशमलव छ प्रतिशत र सार्वजनिक प्रशासन तथा सुरक्षाको क्षेत्रमा दुई दशमलव तीन प्रतिशत जनसङ्ख्या संलग्न रहेको जानकारी दिए ।

तथ्याङ्क अधिकृत सापकोटाका अनुसार ४२ दशमलव पाँच प्रतिशत छ महिना मात्रै काम गर्छन् भने २६ दशमलव सात प्रतिशतले छ महिनाभन्दा कम काम गर्ने गरेका छन् । त्यसैगरी, ३० दशमलव आठ प्रतिशत नागरिकले कुनै पनि आर्थिक क्रियाकलापमा संलग्न नरहेका तथ्याङ्कमा उल्लेख छ । जनगणनाअनुसार प्रदेशका ६२ हजार सात सय २८ घरपरिवारबाट ९४ हजार तीन सय २० जना अर्थात १७ दशमलव एक प्रतिशत नागरिक विदेशमा छन् ।

जसमध्ये पुरुष ७७ हजार दुई सय ७८ छन् भने महिला १७ हजार ४२ छन् । विसं २०६८ को जनगणनाअनुसार १५ दशमलव नौ प्रतिशत जनसङ्ख्या विदेशमा बस्ने तथ्याङ्क थियो । विसं २०६८ मा १५ लाख ७० हजार चार सय १८ रहेको कूल जनसङ्ख्या १० वर्षको अवधिमा शून्य दशमलव ७० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै कर्णालीमा अझै पनि ४ हजार २ सय ७६ अर्थात् १ दशमलव २ प्रतिशत परिवारले खानेपानीका लागि खोलानालाकै भर पर्नुपर्ने अवस्था रहेको छ । जनगणना २०७८ अनुसार कर्णालीमा कुल परिवार संख्याको ३५ प्रतिशत परिवार मात्र धारा पाइप वा घरपरिसरभित्रको खानेपानीको स्रोत प्रयोग गरिरहेका छन् ।

घरबाहिर रहेका खानेपानी आयोजना लगायतबाट कर्णालीका ४४ प्रतिशत र पानीको मूलधाराको प्रयोग गरिरहेका परिवारको संख्या १३ प्रतिशत रहेको जनगणनाको तथ्यांकले देखाएको छ । यस्तै कर्णालीमा कुल परिवार संख्याको ५१ प्रतिशत परिवार बिजुलीको पहुँचबाहिर रहेको जनगणनाले देखाएको छ । तथ्यांकअनुसार एक हजार सात सय ७५ परिवार अझै पनि उज्यालोका लागि मट्टीतेलको भर पर्नुपर्ने अवस्था छ ।

यस्तै, १ सय ४५ परिवारले बायोग्यास र ७ हजार १ सय ३५ परिवारले बिजुली तथा सौर्य ऊर्जाबाहेकका अन्य स्रोत अपनाएको जनगणनाको तथ्यांकमा उल्लेख छ। कर्णालीमा कुल ३ लाख ६६ हजार परिवारमध्ये १ लाख ८१ हजार ६ सय ७६ परिवारमा मात्र बिजुली पुगेको छ। यो संख्या कर्णालीको कुल परिवार संख्याको ४९ दशमलव ६ प्रतिशत हो ।

यसैगरी, १ लाख ७५ हजार ३ सय ६ परिवारले बत्ती बाल्नका लागि सोलार तथा सौर्य ऊर्जाको प्रयोग गरेका छन्। यो संख्या प्रदेशको कुल परिवार संख्याको ४७ दशमलव ९ प्रतिशत हो। यस्तै, खाना पकाउने इन्धनका रूपमा ८२ प्रतिशत परिवारले दाउराको उपभोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

कर्णालीको कुल जनसंख्याको ७३ दशमलव ७ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेका छन् । कर्णालीको कुल जनसंख्याको सबैभन्दा धेरै कृषि, वन तथा माछापालन क्षेत्रमा संलग्न रहेका छन् । १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपालस्तरीय औद्योगिक क्षेत्र अनुसार वर्गीकरण गरी यो तथ्यांक निकालिएको हो ।

सोही अनुसार कर्णालीमा आर्थिक काममा संलग्न नौ लाख २६ हजार तीन सय ४० मध्ये सबैभन्दा बढी मानिसले कृषि, वन तथा माछापालन क्षेत्रमा काम गर्ने गरेका छन् । यस्तै, कर्णाली प्रदेशमा शिशु मृत्युदर अहिलेपनि ६ दशमलव ४ प्रतिशत शिशु मृत्यु हुने गरेको छ । तिन लाख ५२ हजार ९ सय ८३ जना बिवाहित महिलाहरुले हालसम्म ८ लाख ५२ हजार ३ सय २२ जना बच्चा जन्माएका छन् ।

तिमध्ये ६ दशमलव ४ प्रतिशत अर्थात ५४ हजार ५ सय ४८ जना शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा बालिकाभन्दा बालक धेरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै २ सय १८ जना शिशुको मृत्यु भएको थियो ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो ३ वर्षमा ५ वर्षमुनिका ५ सय ८६ जना बालबालिकाको मृत्यु भएको छ । कर्णालीका महिलाहरु अँझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर घट्न नसकेको बुझिएको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्कमा पछिल्लो समय कर्णाली प्रदेशमा छोरीभन्दा छोराको धेरै जन्म भएको देखिन्छ ।

गत बर्षसम्म ८ लाख ५२ हजार तिनसय ५२ जना बच्चा जन्मिएकोमा ५२ दशमलव २ प्रतिशत अर्थात ४ लाख ४४ हजार ९ सय १२ जना छोराको जन्म भएको छ भने ४७ दशमलव ९ अर्थात ४ लाख ८ हजार २ सय ६३ जना छोरीको जन्म भएको छ ।

प्रकाशित मिति : २०८० जेठ १९ गते शुक्रबार