२०८३ वैशाख १४ , सोमबार

खड्कालाई प्रदेश उपसचिवमा बहाल गर्न एमालेकाे निर्देशन



सुर्खेत । नेकपा एमालेकाे केही दिन अघि सम्पन्न बैंठकले पूर्व कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्कालाई कर्णाली प्रदेश कमिटीकाे उप–सचिवमा बहाल गर्न परिपत्र गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको पदाधिकारीमा महिला आरक्षण नगरिएकाे कारण देखाउदै खड्कालाई उप–सचिवको पदमा बहाली गर्न परिपत्र गरिएको हो ।

गत असाेज महिनाकाे १० गते उद्घाटन भै सम्पन्न अधिवेशनले गुलाबजंग शाहकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेसंगै एमालेकाे केन्द्रीय नेतृत्व असन्तुष्ट थियाे। सर्वसम्मतका लागि प्रयास नगरेको र कर्णाली प्रदेशमा नेतृत्वमा रहेका एमाले नेता यमलाल कँडेलले गुट बनाउन लागेको भन्दै केपी ओलि असन्तुष्ट बनेकाे समाचार बाहिरिएको थियाे। एमाले पाेलिटव्यूराे सदस्य गुलावजंगले प्रदेश अध्यक्षका लागि ईच्छा जाहेर गरेपछि अध्यक्ष ओलिले एनजीओकर्मी मिनवहादुर शाहीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै कर्णाली प्रदेशका नेताहरूलाई निर्देशन दिएका थिए। अध्यक्ष ओलिकाे आदेशकाे कार्यान्वयन भए पार्टीमा सिनियर र दुख गरेका कार्यकर्ताहरु अपमानित हुने भन्दै कँडेल र शाहकाे गुटले अध्यक्षकाे दाबी गरेका सुर्खेतका धुर्वकुमार शाहीलाई सचिबमा मनाएर टिम घाेषणा गरेका थिए।

निर्वाचनमा कँडेल टिमका गुलावजंगकाे टिमले एकतर्फी बिजय हासिल गर्याे। लगभग सबै पदमा गुलावकाे टिम विजय बन्दा सुर्खेतकी पद्मा खड्का गाेरख बाेगटी टिमबाट उपसचिवकाे उम्मेदवार बनेर पराजित भईन।गुलाव टिमबाट उपसचिवमा दैलेखका रबिन्द्रराज शर्मा र रमेश शाही निर्वाचित भएका थिए । शाहीले २सय ६६ मत ल्याएर उप–सचिव पदमा विजयी भएका हुन् । खड्काले भने १ सय ५२ मत ल्याएर पराजित भएका थिए। प्रदेश कमिटीमा महिला आरक्षण नगरिएको दावी गर्दै खड्काले केन्द्रीय कमिटीमा उजुरी गरेपछि शाहीको स्थानमा खड्कालाई बहाली गर्न अध्यक्ष ओलि राजी भएका थिए। केन्द्रीय कमिटी बैठककाे अन्तमा अध्यक्ष ओलिले खड्कालाई उपसचिव बनाउने निर्णय लेख्न महासचिव शंकर पोखरेललाई निर्देशन दिएका थिए। केही दिन अघि महासचिव पाेखरेललाई भेट्न गएका प्रदेश अध्यक्ष गुलावजंग शाहले खड्काकाे वारेमा चासाे राखेपछि अध्यक्षकाे आदेशकाे विरुद्धमा आफु जान नसकेकाे भन्दै लाचारी प्रकट गरेकाे भेटमा सहभागी एक एमाले नेताले वताए। गुलावजंग शाह महासचिव पाेखरेलका विश्वासपात्र मानिन्छन्।

कर्णाली प्रदेश अधिवेशनमा पनि पाेखरेल गुलावलाई अध्यक्ष बनाउन चाहन्थे। तर, केपी ओलिकाे मिनबहादुर शाहीलाई अध्यक्ष बनाउनु पर्ने अडानका अगाडि नतमस्तक बनेको एक एमाले कार्यकर्ता वताउँछन। प्रदेश अधिवेशन समाप्त भएर जिल्ला अधिवेशन नजिकिँदै गर्दा खड्कालाई उपसचिव बनाउने निर्देशनले कँडेल ईतरपक्ष सुर्खेतमा हाैसिएकाे छ। कँडेल टिममा दरार आएकाे र उनको टिममा रहेका पुराना कार्यकर्ताहरु पनि अहिले खासै सकृय नरहेको अवस्थामा कँडेललाई सुर्खेतकाे राजनीतिबाट विस्थापित गर्न सकिने आशा पलाएकाे एमाले सुर्खेतका एक कार्यकर्ता वताउँछन। पार्टीको केन्द्रीय सर्कुलर सार्वजनिक भएपछि एमालेका दुई टिमकाे विचमा सामाजिक संजालबाटै “वार” सुरु भएको छ। खड्कालाई उपसचिव बनाउने निर्देशनकाे स्वागत गर्दै एउटा पक्ष वधाई दिईरहेकाे छ भने अर्को पक्षले केन्द्रले गरेको निर्णयले पार्टीमा विधि, विधान र पद्धति समाप्त भएर जाने तर्क गरिरहेकाे छ।

खड्काले बर्षाै राजनीति गरेका नेताहरुलाई पछाडि पार्दै केन्द्रीय नेतृत्वकाे विश्वास जित्नु चानचुन विषय भने हाेईन। पार्टीकाे विधानमा समावेशी बनाउनु पर्ने लेखिए पनि महिलालाई पदाधिकारीमा समेट्नै पर्ने लेखिएको छैन। नेकपा एमालेकाे विधान २०४९ काे धारा ३१ काे उपधारा (४) मा एमालेकाे प्रदेश कमिटीमा कम्तीमा एक तिहाइ महिला हुनुपर्ने र प्रदेशकाे विविधता प्रतिविम्वित हुनेगरी समावेशीकरण गरिनेछ भन्ने उल्लेख छ। अध्यक्ष ओलिकाे मन जितेकी खड्काले पार्टी विधानकाे यही अस्पष्टताकाे फाइदा उठाएकी छन।

उनलेे एमाले सुर्खेतकाे राजनीतिमा उच्चस्तरको हैसियत कायम पनि गरेकी छन्। केन्द्रीय कमिटीकाे सर्कुलर कार्यान्वयन गराउन पठाइएको पत्रमा भनिएको छ, ‘विजयी पुरुष उम्मेदवारमध्य दोस्रो मत ल्याउने शाहीको स्थानमा महिला उम्मेदवारहरुमा सबैभन्दा बढी मत ल्याउने खड्कालाई बहाल गर्नु ।’ उपसचिवबाट पदमुक्त भएका शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्न केन्द्रले निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार