काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ। एन्फाको आर्थिक विषयमा छानबिन भइरहेको कारण सबै सम्बन्धित पदाधिकारीलाई विदेश जान रोक लगाइएको हो।
छानबिनका लागि राखेपले आफ्नो कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। खेलकुद मन्त्रालयमार्फत आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा उक्त समिति गठन गरिएको हो। सोही पत्रअनुसार गत शुक्रबार गृह मन्त्रालयले एन्फाका २२ जना पदाधिकारीलाई विदेश जान रोक लगाएको जनाएको छ।
मन्त्रालयले अध्यागमन विभाग लाई परिपत्र गर्दै छानबिनमा रहेका व्यक्तिहरूलाई कालोसूचीमा राख्न निर्देशनसमेत दिएको छ। यसअघि ‘अर्ली इलेक्सन’ विवादका कारण राखेपले एन्फालाई चैत ११ गतेदेखि तीन महिनाका लागि निलम्बन गरेको थियो।