
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले आवश्यक पूर्वतयारी नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहितको प्रतिनिधिमण्डलसँग आज (मंगलवार) सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगिताको मिति मात्र तोक्दै तयारी नदेखाउनु जनतालाई ढाँट्ने काम भएको बताएका हुन्।
मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमै आयोजना गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। तर, संघीय सरकारले पटक–पटक मिति तोकेर पनि आवश्यक तयारी नगरेको भन्दै उनले यस्तो कार्यप्रति आपत्ति जनाए। ‘हामी तपाईँहरू खेलकुद खेलाउने गरी आउनुहोस्, प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग रहन्छ,’ उनले भने, ‘तर पटक–पटक मिति तोकेर जनतालाई भुक्याउने काम नगर्नुहोस्।’।
मुख्यमन्त्री कँडेलले खेलकुदका लागि आवश्यक सामग्रीसमेत खरिद प्रक्रिया अगाडि नबढाएकोप्रति प्रश्न उठाउँदै फागुनमा कसरी प्रतियोगिता सञ्चालन हुन्छ भन्ने आशंका व्यक्त गरे। ‘अहिलेसम्म खेलका लागि चाहिने सामग्री खरिद प्रक्रिया नै सुरु भएको छैन, एक महिनाभित्र कसरी खेल आयोजना गर्ने तयारी गर्नुहुन्छ ?’ उनले प्रश्न गरे।
कर्णालीमा उद्घाटन गरेर अन्यत्रै खेल सञ्चालन गर्ने योजना भए प्रदेश सरकारले स्वीकार नगर्ने स्पष्ट पार्दै मुख्यमन्त्री कँडेलले संघीय सरकारकै ढिलासुस्तीका कारण प्रतियोगिताको मिति सारिँदै गएको बताए। ‘तपाईँहरूको कारणले प्रतियोगिताको मिति सर्दै गएको छ, जनतालाई ढाँट्ने काम नगर्नुहोस्,’ उनले भने।