२०८३ वैशाख १३ , आइतबार

दशैँतिहारपछि जाजरकोटका गाउँवस्तीहरु सुनसान



सुर्खेत । जाजरकोट जिल्लाका गाउँवस्तीहरु बिस्तारै सुनसान हुँदै गएका छन् । दशैंतिहारका लागि शहर पसेकाहरु फर्कन थालेपछि भरिभराउ बनेका गाउँहरू फेरि रित्तो हुँदै गएका हुन् । दशैँ–तिहारजस्ता चाडपर्वहरु मनाउन लामो बिदामा गाउँ आएकाहरू आ–आफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिन थालेका हो।

अध्ययन, रोजगार तथा विभिन्न कामले शहरबजारमा बस्दै आएकाहरू दशैँ–तिहार मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएकाहरू धमाधम आफ्नो कार्यक्षेत्रतिर झर्न थालेपछि गाउँ सुनसान बन्न थालेको जाजरकोट कुशे गाउँपालिका–३ कि सरिता सिँहले बताइन् ।

यस्तै जाजरकोट शिवालय गाउँपालिका ५ घर भइ हाल काठमाडौँमा बस्दै आएका आदित्य शाहीले दसैँतिहार मानेर कर्मक्षेत्रमा जान निकै भारी भैरहेको प्रतिकृया दिए। ‘दशै तिहारमा क्या रमाइलो भएको थियो, कति छिट्टै छुटिने दिनपनि आइसकेछ, अर्को वर्ष फेरी भेट हुन्छ हुँदैन्, यतिको रमाइलो हुन्छ हुँदैन,’

उनले निराश हुँदै भने, ‘दशैँको फूलपातीको दिनदेखि तिहारको भोलिपल्टसम्म गाउँघरमा जता गए पनि आफन्त मात्रै भेटिन्थे, सबैसँग भेट हुन्थ्यो हास्थ्यौँ सँगै बसेर रमाइला रमाइला कुरा हुन्थे, अब त यो गाउँ पनि सुनसान हुनेहोला है।’

यस्तै, जुनिँचादे गाउँपालिका–२ कि यशोदा विकले दशैँतिहार मनाउनकै लागि सहरमा बस्दै आएका छोराछोरी, आफन्त, इष्टमित्र गाउँमा आएको भएपनि दशैतिहार लगत्तै उनीहरू गन्तव्यमा फर्किएपछि आफुलाई गाउँमा एक्लै बस्दा नरमाइलो लाग्न थालेको बताइन् ।

दशैंतिहार मान्नका लागि गाउँमा रहेका आफ्ना जन्मघर तथा पुर्ख्यौली घरमा पुगेकाहरू पनि सधैँको दैनिकी धान्नकै लागि गन्तव्यमा फर्किएका छन् त कोही फर्किने क्रममा छन् । दशैंका कारण सुनसान बनेका सहरहरू पुन आफ्नै लय र रफ्तारमा फर्किन थालेका छन्।

शिवालय गाउँपालिकाका अधिकांश व्यक्ति आ–आफ्नोकार्यक्षेत्रतिर गइसकेका छन् भने कोही जाने तयारीमा रहेका छन् । यहाँ भएका धेरै मानिसहरु परम्परादेखि लाग्दै आएको विभिन्न मेलाको प्रतिक्षा गरेर बसिरहेका छन् । भएका पुरुषहरु यहाँको मेला हेरेर कोही पढ्न काठमाडौँ, सुर्खेत, कोहलपुर त कोही जिवीकोपार्जन गर्न भारत जाने तयारीमा रहेका छन् ।

उनीहरु मेला र कार्यक्षेत्रमा जाने दिन कुरेर बसेका छन् । जाजरकोटको शिवालय गाउँपालिकामा पछिल्लो खेतीयोग्य जमिन बाँझो राख्ने प्रचलन बढ्दै गएको छ । बढ्दै गएको युवाशक्तिको पलायन, बाँदरको आतङ्क, भौगोलिक अवस्था, कृषिमा यान्त्रिकरणको अभाव बसाइसराई लगायत कारणले बर्सेनि बाँझो जमिनको क्षेत्र बढ्दै गएको हो ।

विगतका वर्षहरुमा एउटाले बाँझो जग्गा छोडेपनि अर्कोले त्यही जग्गामा बाली लगाउने गरेका थिए । तर, पछिल्लोसमय भने एउटाले बाँझो जग्गा छोडेपछि अर्कोले पनि जग्गा बाँझो छोड्ने प्रचलन बढ्दै गएको छ । शिवालय गाउँपालिका–५ मा बस्ने ददु शाहीले केही वर्ष पहिले आफ्नो मात्र नभई अरुको बाँझो जग्गामा समेत खेती लगाउने गर्दथे ।

हिजो आज शाहीका नाति नातिना बुहारी छोरा सबै सहर बजारमा बस्न थालेपछि उनले भएको जग्गा पनि बाँझो राख्न थालेका छन् । यस्तै, सोही ठाउँका नैनबहादुर शाहीले पनि केही वर्ष पहिलो अरुको बाँझो जग्गामा खेतिपाति गर्ने गरेकोमा हाल उनी बसाइ सरेर बर्दिया गएका छन्।

उनको खेत तथा पाखोबारी अहिले बाँझो रहेको छ । यहाँका धेरैजसो स्थानीयहरु बसाइसराई गरेर सुर्खेत, कोहलपुर र बर्दिया जाने गरेका छन् भने कोही सबै परिवार लगेर नै भारत जाने गरेका छन् ।विगतका वर्षहरुको तुलनामा गाउँमा विकास हुँदै गएको छ ।

विकास भएपनि यहाँ गाउँमा भएका अधिकांश मानिसहरु बाहिरी देश र जिल्ला सदरमुकाम र अन्य जिल्लाका सहरहरुमा जान थालेका छन् । पहिले बिजुली, सडक, सञ्चार नहुँदा यहाँका स्थानीयले निकै सास्ती खेप्नुपरेको थियो । हिजोआज भने गाउँमा बिजुलीवत्ती, सडक, सञ्चार सबैको विस्तार भएको छ ।

सडक र सञ्चारको पहुँच पुगे पनि गाउँमा रोजगारी सिर्जना भने हुन सकिरहेको छैन । यही कारण मानिस विदेशिइरहेका छन् । हिजो आज गाउँमा पुरुषहरुको संख्या घट्दै गईरहेको छ । दशैंतिहार बिदामा आएकाहरू कार्यथलो फर्किन थालेपछि सडक र सहरमा चहलपहच बढ्न थालेको छ ।

दशैँतिहारमा बजारबाट घर फर्किनेहरूका कारण भरिभराउ भएका सवारी साधनहरू अहिले गाउँबाट सहर जानेहरुका कारण भरिभराउ हुन थालेका छन् । यात्रुको चापका कारण सवारी साधनमा यात्रुहरूको चाप बढेको र सवारी साधनहरूको अपुग भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १३ गते बुधबार