२०८३ वैशाख १४ , सोमबार

बालविवाह र लागुऔषध दुर्व्यसन रोक्न बालबालिका पढाउँदै प्रहरी



जुम्ला । जुम्ला प्रहरीले बालविवाह, लागुऔषध दुर्व्यसन तथा साइबर अपराध न्यूनीकारण गर्नका लागि बालबालिकामा सचेतना फैलाउन थालेको छ ।समाजमा बढ्दै गएको बालविवाह, लागुऔषध दुर्व्यसन तथा साइबर अपराधविरुद्ध बालबालिकालाई सचेत गराउनका लागि प्रहरीले सचेतना कक्षा सञ्चालन गरेको हो ।

चन्दननाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना, युनिसेफको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी साझेदारी कार्याक्रमअन्तर्गत्त १८ वर्ष मुनिका बालवालिकालाई सचेतना दिइएको हो । नगरपालिकाका दशै वडाका बालक्लब र सञ्जालमा अवद्ध भएका बालबालिकालाई बालविवाह, लागुऔषध दुर्व्यसन तथा साइबर अपराधविरुद्ध प्रशिक्षण दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रल्हाद कार्कीले नेपाल प्रहरीले यसअघि शिक्षक, शिक्षिका एवम् विद्यार्थीहरु बीचमा लागुऔषध दुर्व्यसनी, लैंगिक हिंसा र बाल विवाहविरुद्ध कसुरका विषयमा सचेतनाका कार्यक्रम गर्दै आएको बताए ।

उनका अनुसार जिल्ला प्रहरीले प्रत्येक महिना विद्यालयमा विद्यार्थीका लागि प्रहरी के हो ? , प्रहरीले दिने सेवा कस्तो हो ? , प्रहरीबाट कसरी सहयोग लिन सकिन्छ भन्नेजस्ता विषयमा कक्षा सञ्चालन गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका असई विवेक खनालले पछिल्लो समय १८ वर्षभन्दा कम उमेरका बालबालिका नै लागुऔषध दुर्व्यसनमा बढी लागेकाले उनीहरुलाई सचेत गराउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताए ।

त्यस्तै चन्ददननाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाकी महिला विकास साहयक निरीक्षक तथा नगर बालकल्याण अधिकारी पुष्पा थापाले साइबर अपराध एवम् लागुऔषध र बालविवाह न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिइएको बताइन् ।

उनका अनुसार जिल्लास्थित विभिन्न विद्यालयबाट एसईईको ट्युसन पढ्न आएका बालबालिकालाई लागुपदार्थबाट हुने हानि र साइबर अपराधबाट आइपर्ने झन्झटका विषयमा पढाउन थालिएको छ । उनले समाजमा हुने कुरीति रोक्नका लागि नगरपालिकाको एक्लो प्रयासले नसकिने बताउँदै यसका लागि सारोकारवाला तथा बालक्लबहरु पनि एकजुट हुनुपर्ने बताइन् ।

प्रकाशित मिति : २०८० पुस ५ गते बिहीबार