२०८३ जेठ २७ , बुधबार

जुम्ला विमानस्थलमा एकदिन अगाडि नै टिकट वितरण गरिने



जुम्ला । जुम्ला विमानस्थलमा भएको भद्रगोल अवस्था अन्त्य गर्नका लागि आइतबार सरोकारवालाको बैठक बसेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको उक्त बैठकले टिकट वितरण प्रणालीलाई पारदर्शी बनाउनका लागि एक दिन अघि नै टिकट वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै जुम्लाका सरोकारवाला निकायका पदाधिकारीहरूले जुम्ला विमानस्थलमा सञ्चालित प्रत्येक वायुसेवा कम्पनीहरूले एकआपसमा सहकार्य गरी कार्यालय खोलेर डायरीमा नाम लेख्ने व्यवस्था मिलाएर पारदर्शीरूपमा टिकट बिक्री वितरण गर्ने निर्णय गरेका छन् । वायुसेवा कम्पनीहरूले १० सिट आ–आफ्नो कार्यालयबाट सर्वसाधारणका लागी दिने छन् ।

त्यस्तै बिरामी, अशक्त, सुरक्षाकर्मी तथा अन्य आकस्मिक काम परेका व्यक्तिका लागि सिटको व्यवस्था गर्ने निर्णय गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । उनका अनुसार सिता ऐयरको हकमा एक सिट सुरक्षाकर्मी, एक सिट बिरामी र एक सिट सरकारी निकायलाई दिइने छ । सार्वसाधारण र बिरामीको पहुँचमा जहाजको टिकट नभएको भन्दै यस्तो निर्णय गरिएको हो ।

टिकट वितरण प्रथामिकताको आधारमा गरिने छ । ‘ए’ लेखिएको टिकट जरुरी काम परेकालाई दिइने छ । ‘बी’ लेखेको टिकट बिरामीका लागि, ‘सी’ लेखिएको टिकट सरकारी कर्मचारीलाई दिइने छ । यसअघि पनि विजय कुमारी प्रसाईं प्रमुख जिल्ला अधिकारी  हुँदा जुम्ला विमानस्थलमा सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पहिलो चरणमा जुम्लामा हुने उडानमा टिकट प्रणाली व्यवस्थापन गर्न सबैको सहयोग आवश्यक रहेको बताए । जुम्लामा वर्षौंदेखि जहाजको टिकट वितरण प्रणाली राम्रो नभएकाले बिरामी र सार्वसाधारणले दुस्ख भोग्नु परेको गुनासो आएको थियो । उनका अनुसार एक हप्ताभित्र  १० बजेदेखि साँझ ४ बजेसम्म प्रत्येक एयरलाइन्सले कार्यालय खोलेर टिकट वितरण गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०८० पुस ८ गते आइतबार