
सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन स्थगित भएको छ । दुई समूहमा विभाजित एमाले सुर्खेतमा लामा समयदेखि नेतृत्वको विषयलाई लिएर विवाद भइरहेको छ। वर्तमान अध्यक्ष अमृत कुमार बिसीको अध्यक्षमा दोहोरिने चाहना र उपाध्यक्ष कुलमणि देवकोटाको अध्यक्ष बन्ने चाहनाबिच एमाले सुर्खेतको शक्तिसंघर्ष चरमोत्कर्षमा पुगेको छ।
बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिने भनेपनि उपस्थित पत्रकारहरूलाई लिखित विज्ञप्ति थमाउँदै जिल्ला अध्यक्ष बिसीले आगामी फाल्गुन ४, ५ र ६ गते हुने भनिएको अधिवेशन स्थगित भएको जानकारी दिएका हुन् । ‘आठौ जिल्ला अधिवेशनबाट हालसम्म आइपुग्दा जसरी पार्टी साझा तरिकाले चल्नु पर्ने हो त्यसरी चल्न चलाउन सकिएन्,’ उनले भने, ’यो क्रम अझ बढी पेचिलो बन्यो ।’ अध्यक्ष बिसीले आफूमाथि पटक पटक अपमान भएको समेत उल्लेख गरे । ‘अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरूलाई बन्धक बनाएर निर्णय गर्न थालियो,’अध्यक्ष बिसीले भने, ‘विभिन्न निर्वाचनमा खुलेआम घात–अन्तर्घात गरिए, अधिवेशनबाट बाहिरिएका जिम्मेवार कमरेडहरूलाई आग्रहपूर्ण तरिकाले बाहिर राखियो, केही जिम्मेवारीमा रहेका नेताहरूले नै चरम अराजकता प्रदर्शन गर्ने क्रम बढ्दै गयो ।’
उनले नवीकरणको समय हुँदाहुँदै दूर दराजका पार्टी सदस्यहरू नवीकरणबाट वञ्चित भएको पनि बताए । एमालेको प्रथम कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी सङ्गठनमा असहजता, झुलाघाट–चिवाभन्ज्याङ्ग, समृद्धिको सङ्कल्प यात्रा अभियान अन्तरगत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु, हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उलङ्घन गर्दै प्रस्तुत हुनु जस्ता समस्याहरूको ठोस निराकरण नगरी गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि नहुने उनको विज्ञप्तिमा उल्लेख छ। अधिवेशन स्थगित गर्दै अध्यक्ष बिसीले अधिवेशन तयारीका लागि गठित सम्पूर्ण समिति र उप समितिहरूसमेत विघटन भएको र उपयुक्त समयमा स्थगित अधिवेशनको मिति तोकिने अध्यक्ष बिसीको विज्ञप्तिमा उल्लेख छ ।
यो निर्णयलाई पार्टी शुद्धीकरणको अभियानको रूपमा बुझिदिन् उनले विज्ञप्तिमार्फत आग्रह समेत गरेका छन् । तर, अध्यक्ष बिसीले यो निर्णय गर्दा भने कुनै कमिटीको बैठक राखेर गरेका होइनन्। समितिका पदाधिकारीलगायत पार्टी कमिटीलाई जानकारी नै नदिई उनले अधिवेशन स्थगितको सूचना गरेका हुन्। उनको एकल निर्णयलाई भने जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू समर्थन नहुने प्रष्ट छ। प्राप्त सूचनाअनुसार अध्यक्ष बिसीलाई अध्यक्ष पदबाट बर्खास्त गरी तोकिएकै समयमा अधिवेशन गर्न बिसी इतर समूह लागेको छ। ’अध्यक्षको यहीँ रवैया कायम रहे कमिटी अध्यक्षबाट हटाइनेछ,’ इतर समूह स्रोतले भन्यो।
यता, पार्टीका जिल्ला सचिव कवीन्द्र केसीले अधिवेशन स्थगित गर्नेबारे अध्यक्षले कुनै जानकारी नदिएको बताए । उनले भने, ‘मलाई दिउँसो ३ बजे फोन आएको थियो, पर्सि सचिवालयको बैठक छ भन्नुभयो। अरू अधिवेशनको केही कुरा गर्नु भएन। हामी पदाधिकारीहरू बसेर आवश्यक छलफल र निर्णय गर्छौ ।’
