कुलेन्द्र शाही, सुर्खेत । ३ मंसिर २०७७ मा प्रदेश अस्पताल सुर्खेतमा सुत्केरी र नवजात शिशुको मृत्यु भयो । शल्यक्रिया गरी शिशुको जन्म दिएकी दैलेखको नारायण नगरपालिका–११ की १८ वर्षीया सुत्केरी र नवजात शिशुको मृत्य भएको थियो । कर्णाली प्रदेश अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माएकी दीपा विक र उनको नवजात शिशुको मृत्यु भएको थियो ।
यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा सुविधासम्पन्न प्रसूतिगृह नहुनु, अशिक्षित र अटेरी अभिभावकका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको तथ्यांकहरूले देखाउँछ । कर्णालीमा वार्षिक सयौँ संख्यामा शिशु र सुत्केरीको मृत्यु हुने गरेको छ ।
५ आर्थिक वर्षमा कर्णालीका विभिन्न जिल्लाका करिब २०२ जना शिशुको मृत्यु भएको छ । यो तथ्याङ्गक प्रदेश अस्पताल सुर्खेतमा मात्रै मरेको शिशुको हो । आइतवार प्रदेश अस्पतालले पत्रकार सम्मेलन मार्फत आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वास्थ्य प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
अस्पतालले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ३१ जना शिशुको अस्पतालमा मृत्यु भएको छ । यस्तै २०७६/०७७ मा ४२ जना, २०७७/०७८ मा ४२, २०७८/०७९ मा ३८ र २०७९/०८० मा ४९ जना शिशुको मृत्यु भएको तथ्याङ्गक अस्पतालले सार्वजनिक गरेको हो । विगतका वर्षहरुमा भन्दा गत आर्थिक वर्षमा प्रदेश अस्पतालमा नवजात शिशुको मृत्युहुने दरमा वृद्धि आएको छ ।
प्रदेशको ठुला तथा रेफरल अस्पताल भएकाले कतिपय सेवाग्राहीहरु ढिला उपचार गर्न आउने गरेको कारण तथा भागोलिक विकटताका कारण नवशिशुको मृत्यु दर बढेको अस्पतालका निर्देशक डा. डम्बर खड्काको भनाइ छ । उनले यसमा सम्बन्धित सरोकावाला निकायहरुको समयमै ध्यान जान जरुरी रहेको बताए ।
सरकारी तथा निजी संघ/संस्था मृत्युदर न्यूनीकरण अभियानमा लागिपरे पनि यो क्रम अझै रोकिएको छैन् । तथ्यांक अनुसार चालु वर्षमा अझै शिशु मृत्युदर बढ्ने देखिन्छ । कर्णालीमा बालविवाह बढी हुने गरेकाले पनि मृत्युदर बढी हुन गएको उनको भनाई छ ।
९९ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार
प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक गरेको प्रतिवेदनमा तीन वर्षमा ९९ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरेको उल्लेख गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम अन्तरगत तीन वर्षमा ९९ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको डा. खड्काले जानकारी दिए ।
उनकाअनुसार सबैभन्दा बढी आर्थिक वर्ष २०७९/०८० मा ४९ जना महिलाको उद्धार गरिएको छ । यस्तै २०७७/०७८ मा ८ र २०७८/०७९ मा ४२ जना महिलाको उद्धार गरिएको छ । १४ जिल्लाबाट गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको डा। खड्काको भनाइ छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम प्राथमिकतामा रहेको उनले बताए ।
अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने
यस्तै अस्पतालले आगामी तीन वर्षमा गरिने कार्य योजना पनि सार्वजनिक गरेको छ । सार्वजनिक योजनाका अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गरिने, बालबालिकाहरुको लागि छुट्टै ओपिडि भवन निर्माण गरी सञ्चालन गरिने, बिरामी कुरुवा घरको निर्माण गरी सञ्चालन र अस्पतालको तला थप निर्माण कार्य सम्पन्न गरी थप सेवाहरु सञ्चालन गरिने डा.खड्काले जानकारी दिए । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।