२०८३ वैशाख २८ , सोमबार

सुर्खेतमा अनेमसंघको ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम



सुर्खेत । अखिल नेपाल महिला सङ्घ केन्द्र र कर्णाली प्रदेश कमिटीको संयुक्त आयोजनामा सुर्खेतमा ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । परीक्षाको शैलीमा गरिएको प्रशिक्षणमा उत्तीर्ण भएकाहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

चैत २५ देखि २७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपसचिव तथा अनेमसंघ कर्णाली प्रदेश अध्यक्ष पदमा खड्काको अध्यक्षता र अनेमसंघ इन्चार्ज सिता पौडेलको प्रमुख आतिथ्यतामा भएको  प्रशिक्षक प्रशिक्षणमा अनेमसंघका स्थानीय तथा केन्द्रीय नेता गरी ५१ जना सहभागी भएका थिए ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सिता पौडेल, अनेमसंघ अध्यक्ष टुका भद्रा हमाल, अनेमसंघ केन्द्रीय उपाध्यक्ष शर्मिला कार्की, अनेमसंघ स्थायी कमिटी सदस्य एवम् केन्द्रीय प्रशिक्षण विभाग प्रमुख पुष्पा केसी, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमला केसी, अनेमसंघ स्थायी कमिटी सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य एवम् अनेमसंघका महासचिव पेम्वा लामा लगायतका पदाधिकारी र प्रशिक्षण विभागका सदस्यहरूले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा मार्क्सवादी दर्शन, स्थानीय जनप्रतिनिधि र र अनेमसंघको सम्बन्ध, नेपाली महिला आन्दोलन र प्राप्त उपलब्धि, जनताको बहुदलीय जनवाद, जबजका चौध विशेषता, दशौँ महाधिवेशनका कार्यदिशा, सङ्गठन निर्माण र परिचालन, सञ्चारको महत्त्व, महिला नेतृत्व विकास र प्रशिक्षण कला, अनेमसंघ र आर्थिक व्यवस्थापन र उद्यमशीलता र आर्थिक सशक्तीकरण, नेतृत्व विकास, सञ्चार, प्रविधि र मार्क्सवादी संस्कृति लगायत समसामयिक विषयहरूमा प्रशिक्षित गरिएको थियो ।

अखिल नेपाल महिला सङ्घका नेताहरूलाई प्रशिक्षकको रूपमा तयार गर्न र पार्टीका प्रशिक्षणहरूमा पनि महिलाहरूलाई प्रशिक्षकको रूपमा स्थापित गर्ने उद्देश्यका साथ यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको अनेमसंघ कर्णाली प्रदेश अध्यक्ष खड्काले जानकारी दिइन् ।

उनकाअनुसार कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्य तथा अनेमसंघ प्रदेश इन्चार्ज मिना सिंह रखाल, केन्द्रीय सदस्य मोहनमाया ढकाल, एमाले प्रदेश अध्यक्ष गुलाब जङ्ग शाह, केन्द्रीय सदस्य इन्दिरा सज्यल र एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०८० चैत २७ गते मंगलबार